काठमाडौं । बबई नदीमा जलसतह खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बबई नदीमा जलसतह ७.१ मिटर पुगेको छ, जुन खतराको तह ९६.८ मिटर० भन्दा माथि हो ।
विभागका अनुसार बबई नदीमा ५.५ मिटर चेतावनी तह र ६.८ मिटर खतराको तह मानिन्छ । हाल खतराको तह पार गरेसँगै विशेष गरी बर्दिया र दाङ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार स्थानीय तह, जिल्ला प्रशासन तथा सर्वसाधारणलाई पूर्व सूचना पठाइसकिएको र सतर्क रहन सन्देश दिइएको छ । साथै, महाकाली नदीको जलसतह पनि खतराको तहमा पुग्ने अवस्थामा रहेको जानकारी दिइएको छ ।
विभागका अनुसार आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने साना नदीहरूमा जलसतह बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरूको जलसतह सतर्कता तह आसपास पुगेको छ भने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल छ ।
त्यस्तै, सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं उपत्यका लगायतका दर्जनौँ जिल्लामा बहने साना नदीहरूको जलसतह बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, धनुषा, महोत्तरी, धादिङ, रसुवा, गुल्मी, बाजुरा लगायतका जिल्लामा बहाव बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।
विभागले प्रभावित क्षेत्रका बासिन्दालाई बाढीप्रति सजग रहन, आवश्यक सावधानी अपनाउन र विपद् जोखिम न्यूनिकरणमा स्थानीय तह तथा सरोकारवाला निकायलाई सक्रिय रूपमा संलग्न हुन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया