काठमाडौं । नेपालभर सञ्चालनमा रहेका धेरै शैक्षिक परामर्श केन्द्रहरूले सरकारबाट अनुमति नलिई गैरकानुनी रूपमा सेवा दिइरहेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार देशभर करिब १० हजार शैक्षिक परामर्श केन्द्रमध्ये ९० प्रतिशतसम्म संस्था अवैध रूपमा सञ्चालनमा छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित ‘शैक्षिक परामर्श क्षेत्रमा सुधारका लागि चुनौती र अवसरहरू’ विषयक अन्तरक्रियामा महानिर्देशक दाहालले यस्ता संस्थाविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पारे । उनले अवैधानिक रूपमा सञ्चालित संस्थाहरू दर्ता नभए बन्द गरिने चेतावनीसमेत दिए ।
उनले भने, ‘हामीले प्रारम्भिक तथ्यांक संकलन गरेका छौँ, जसअनुसार ९० प्रतिशत संस्था गैरकानुनी छन् । अनुमति नलिई सञ्चालित केन्द्रहरूलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना गरिरहेका छौँ । दोहोरिएमा ठगी मानिनेछ र कारबाही हुनेछ ।’
कार्यक्रममा शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्त कोइरालाले वैधानिक रूपमा सञ्चालनमा रहेका संस्थाहरूले डराउनुपर्ने अवस्था नरहेको बताए । तर उनले मन्त्रालयसँग कारबाही गर्ने अधिकार नभएको स्पष्ट पार्दै अनुगमनका लागि गृहमन्त्रालय तथा प्रहरी निकायलाई पत्राचार गर्नुपरेको बताए ।
शाखा प्रमुख कोइरालाका अनुसार ९२४ वटा शैक्षिक परामर्श केन्द्रले अनुमति र नविकरणका लागि निवेदन दिएका छन् भने बाँकीले चाहेकै छैनन् । ‘नचाहेका संस्थाहरू स्वतः अवैधानिक हुन्छन्, ‘उनले भने ।
कार्यक्रममा प्रहरी उपरीक्षक कवित कटुवालले शैक्षिक परामर्श केन्द्रहरूले अरूको नागरिकता प्रयोग गरेर संस्था दर्ता गर्ने, बैंक खाता खोल्ने र विद्यार्थीहरूबाट पासपोर्ट संकलन गरेर पैसा उठाउने प्रवृत्ति बढेको बताए । ‘तीन–चार महिना झुलाएर संस्था बन्द गरी भाग्ने प्रवृत्ति देखिएको छ, ‘उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले भने निजी क्षेत्रलाई अनावश्यक रूपमा त्रसित पार्ने काम नगर्न विभागलाई आग्रह गरे । ‘लाइसेन्सका लागि आवेदन दिँदा निर्णय नै नलिने गुनासाहरू आएका छन् । शिक्षा मन्त्रालयले पनि समयमै निर्णय दिनुपर्छ, ‘उनले भने ।
उनका अनुसार व्यवसायीहरूमा सिस्टममा नआउने प्रवृत्ति रहेको भए पनि सरकारले वातावरण सहज बनाउनुपर्छ । ‘युवाहरूले देशमै केही गरौँ भनेर व्यवसाय थालेका छन्, उनीहरूलाई निराश बनाउने काम नगरौँ,‘उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया