नवलपरासी । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको नारायणघाट–बुटवल सडक विस्तारको म्याद चौथोपटक थप गरेको छ । हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको भन्दै साउन ७, २०८३ सम्मका लागि म्याद थप गरिएको हो ।
पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले निर्माण कम्पनीले म्यादभित्र सडक निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी दिए । उनका अनुसार दाउन्ने बाहेकका सबै क्षेत्रमा कालोपत्रे सकिएको छ भने बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
‘पछिल्लो समय निर्माणमा तीव्रता आएको छ,’ खनालले भने, ‘दाउन्ने सडकको ढलान र दुई वटा पुल निर्माणमा जनशक्ति केन्द्रित छ ।’ उनका अनुसार ६५ किलोमिटर चार लेन सडक, बिचको डिभाइडर, र साढे १७ किलोमिटर सर्भिस लेन निर्माण यस म्यादमा सम्पन्न गरिनेछ ।
तर, निर्माण जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड ले भने एक वर्षमा सबै काम सक्न कठिन हुने जनाएको छ । कम्पनीका सह व्यवस्थापक राकेश झाले आफूहरूले १८ महिना माग गरे पनि सरकारले १२ महिना मात्रै थप गरेको बताए । ‘फुटपाथ र सौन्दर्यकरणजस्ता काम सकिन समय लाग्न सक्छ,’ उनले बताए।
दाउन्ने क्षेत्रमा अहिले ४ किलोमिटर सडक ढलान भइरहेकामा ९०० मिटर ढलान सकिएको र अरुणखोला तथा गिरुवारी खोलामा पुल निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ । गिरुवारी खोलाको पुलमा ६ स्ल्याबमध्ये २ स्ल्याब निर्माण भइसकेको छ भने २२ कल्भर्टमध्ये तीन वटा र सर्भिस लेनको १७।४ किलोमिटर काम बाँकी रहेको छ ।
गैँडाकोटस्थित नारायणी पुल जोडिने १०० मिटर सडक कालोपत्रे गर्न बाँकी रहे पनि त्यसको तयारी सकिएको र दसैँअघि जयश्रीको ठुलो पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
हाल तीन सय जना श्रमिक परिचालन गरेर निर्माण भइरहेको र अब कुनै अवरोध नरहेको खनालले बताए । ‘यदि म्यादभित्र काम नसकिए ६ महिनासम्म थपको माग गर्न सकिन्छ’, उनले भने, ‘त्यस अवधिभित्र सम्पूर्ण सडक निर्माण सकाएर सरकारलाई हस्तान्तरण गरिनेछ ।’
२०७५ साल माघ २४ मा सुरु भएको यो आयोजनाको सम्झौता ४२ महिनामा सम्पन्न गर्ने गरी भएको थियो । कुल ११४ किलोमिटर सडक विस्तार अन्तर्गत ६५ किलोमिटर पूर्वी खण्डको लागत ९ अर्ब १३ करोड रुपैयाँ र ४९ किलोमिटर पश्चिम खण्डको लागत ७ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत १६ अर्ब ९९ करोड रुपैयाँ नाघिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया