काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनलाई अझै पनि ‘१७ हजार’ शहीदको संख्याको नाममा बदनाम गर्ने षड्यन्त्र जारी रहेको आरोप लगाएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
दाहालले माओवादी आन्दोलनका शहीदहरू र बेपत्ता परिवारप्रति पार्टीबाट अपेक्षित सम्मान तथा साथ नजोडिएको स्वीकार गर्दै त्यसप्रति गम्भीर समीक्षा भएको बताएका छन् । उनले भने, ‘हामीले हालै महान् शहीदलाई जुन स्तरबाट सम्मान गर्नुपर्थ्यो, त्यसमा केही त्रुटी गर्यौँ। हाम्रो वर्ग, शहीद परिवार, बेपत्ता परिवारसँग पर्याप्त रूपमा नजोडिएको स्वीकार गरिएको छ ।’
उनका अनुसार हाल माओवादी केन्द्रले विगतका कमीकमजोरीको समीक्षा गर्दै पुनः आफ्नो वर्ग, विचार र राजनीतिक मुद्दातर्फ केन्द्रित हुने संकल्पसहित अगाडि बढिरहेको छ ।
उनले प्रतिक्रियावादी शक्तिहरूबाट आउने षड्यन्त्रको विरुद्ध शहीदहरूका सपना सम्झिँदै पुनः नयाँ आन्दोलन र विद्रोहको तयारी गरिरहेको संकेतसमेत दिए ।
‘फेरि एक पटक नयाँ आन्दोलन र विद्रोहले जन्म लिनेछ भन्ने विश्वाससहित हामी अघि बढ्दैछौँ, ‘दाहालले भने।
पार्टी विभाजन गराउने प्रयास भइरहेको आरोप लगाउँदै उनले यस्ता षड्यन्त्रविरुद्ध सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।
यसै अवसरमा उनले पछिल्ला दिनहरूमा पार्टीभित्र भएको बहस र समीक्षा क्रमले माओवादी आन्दोलनलाई नयाँ ऊर्जा दिने विश्वाससमेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया