सिरहा । सिरहाको औरही गाउँपालिका–४, कमलपुरमा प्रहरीले विशेष सूचनाको आधारमा छापा मार्दै ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आँपको बगैचामा लुकाइराखिएको पाँच बोरा गाँजा बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार पक्राउ परेका मध्ये पाँच जना गाँजा बोक्ने भरिया, एक जना रेक्की गर्ने व्यक्ति, एक जना गाँजा साहु तथा खरिद गर्न आएका दुई जना भारतीय नागरिक रहेका छन् ।
भरियाका रूपमा गोलबजार नगरपालिका–१ मक्सार निवासी ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् ।
रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ निवासी ४२ वर्षीय राजेन्द्र यादव रहेका छन् भने गाँजा साहु मक्सारकै ३२ वर्षीय जीवछ साह हुन् ।
त्यस्तै, भारतको मधुवनी जिल्लास्थित कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी खरिदकर्ताको रूपमा पक्राउ परेका हुन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।
एसपी शर्माका अनुसार, प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई सोधपुछ गर्दा बाँकी समूह पनि गाँजासहित फेला परेको हो ।
हाल पक्राउ परेकाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया