फुटबलर साम्बालाई हेटौँडामा सम्मान

लोकपथ
217
Shares

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई हेटौँडामा सम्मान गरिएको छ ।

मकवानपुरको सञ्चारिका समूहले शनिबार हेटौँडामा आयोजना गरेको ‘देश चिनाउने सम्बासँग हाम्रो चिनजान’कार्यक्रमअन्तर्गत भण्डारीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङ सभाध्यक्ष र हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रममा हेटौँडा स्कुल अफ म्यानेजमेण्टका सञ्चालक एवं शिक्षाविद् पुरनबहादुर जोशीले भण्डारीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

सम्मान ग्रहण गर्दै कप्तान भण्डारीले आफ्नो फुटबल करियर मोजाको भकुण्डोबाट सुरु भएको स्मरण गराइन् । अभाव र कठिनाइको बाबजुत मेहनत र संघर्षबाट आफूले सफलता हासिल गरेको बताइन् । उनले भकुण्डोले फुटबलमा अगाडि बढ्न ठूलो प्रेरणा दिएको पनि उल्लेख गरिन् ।

साथै, खेलकुद प्रति दृष्टिकोणमा अहिले सकारात्मक परिवर्तन आएको बताउँदै नयाँ पुस्तालाई खेल्नका लागि सामग्रीको अभाव नरहेको र स्थानीय सरकारले पनि खेलप्रति सकारात्मक धारणा राखेको बताइन् ।

फुटबलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने विश्वास राख्दै भण्डारीले नेपाली महिला फुटबल टोली सबै नेपाली महिलाको प्रतिनिधित्व गर्दै देशको नाम उचाइमा पुर्‍याउन सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरिन् । उनले खेलसँगै शिक्षाको पनि उत्तिकै महत्व रहेको विचार व्यक्त गरिन् ।

यस कार्यक्रममार्फत युवा खेलाडी सावित्रा भण्डारीले आगामी दिनमा अझ धेरै मेहनत गरी नेपाली खेलकुदमा नयाँ अध्याय लेख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?