राज्य बलियो नभएसम्म नागरिक बलियो हुन सक्दैनन् : शंकर पोखरेल

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल अन्तर्राष्ट्रिय चर्चामा झैँ गरिब देश नभएको दाबी गरेका छन् । उनले अनौपचारिक अर्थतन्त्रको गणना नगर्दा नेपालीहरू गरिब देखिएको तर्क प्रस्तुत गरे ।

काठमाडौंमा आयोजित नवयुग उद्यमशालामा बोल्दै पोखरेलले भने, ‘हामी नेपालीहरू गरिब छन् भन्छन् तर विदेशमा गएर विदेशीहरूभन्दा बढी खर्च गरिरहेका छन् । त्यसैले नेपालको सरकार गरिब हो, नागरिक गरिब छैनन् । नागरिक गरिब देखिनुको कारण अनौपचारिक अर्थतन्त्रको उपेक्षा हो।’

उनका अनुसार यदि अनौपचारिक क्षेत्रको आर्थिक गतिविधि गणनामा ल्याइयो भने नेपाल त्यति गरिब देखिँदैन ।

राष्ट्र बैंकबाट प्रकाशन हुने सबै आर्थिक सूचकांकहरू सकारात्मक रहेको बताउँदै पोखरेलले भने, ‘राज्य घाटामा छ, तर बैंकहरूमा पैसा थुप्रिएको छ। तर लगानी वृद्धि हुन सकेको छैन ।’

उनले तरलता सन्तुलन गर्न राष्ट्र बैंकलाई लगानी गर्नुपर्ने बाध्यता देखिएको पनि उल्लेख गरे । ‘विकास र उद्यमशीलतामा लगानी हुनुपर्नेमा राज्य सन्तुलन कायम गर्न पैसा खर्चिरहेको छ,‘उनले भने, ‘जे कुरामा लगानी हुनुपर्ने हो, त्यहाँ गर्न सकिएको छैन ।’

महासचिव पोखरेलले नेपालको अर्थतन्त्र प्रगतिशील दिशामा अगाडि बढिरहेको भए पनि राज्य भने अझै बलियो नभएको धारणा व्यक्त गरे। ‘लोकतन्त्रमा राज्य बलियो नभए नागरिक बलियो हुन सक्दैनन्,‘उनले भने,‘ हामी कर नतिरी अधिकार खोज्ने प्रवृत्तिमा छौँ, जुन असंवैधानिक हो ।’

उनले औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली रहेको र राज्यका नीति तथा कानुनले त्यसलाई अझ प्रवर्द्धन गरिरहेको आरोप पनि लगाए ।

राष्ट्र बैंक र अर्थ मन्त्रालयले आफ्नो भूमिकामा चुकिरहेको टिप्पणी गर्दै पोखरेलले आर्थिक अनुशासन र नीतिगत स्पष्टता आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?