वर्षाले सुक्खाग्रस्त मधेसमा राहत, रोपाइँमा सघाउ हुने अपेक्षा

लोकपथ
1.4k
Shares

जनकपुरधाम । लामो समयदेखि वर्षा नहुँदा सुक्खाग्रस्त बनेको मधेस प्रदेशमा हालैको वर्षाले राहत मिलेको छ । शुक्रबारदेखि लगातार परेको पानीले सुख्खा मौसमका कारण संकटग्रस्त बनेको प्रदेशलाई केही सहज बनाएको छ ।

सरकारले केही दिनअघि मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको थियो भने किसानहरू चिन्तित थिए । तर शुक्रबारदेखि सुरु भएको वर्षाले खेतमा चिसोपन ल्याएको छ ।

शनिबार बिहानको मापनअनुसार धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगञ्जमा ४६.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई ‘भारी वर्षा’ मानिन्छ भने १० देखि ५० मिलिमिटरलाई ‘मध्यम वर्षा’ श्रेणीमा राखिन्छ ।

मधेस प्रदेशका अन्य जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सर्लाहीमा ३७.६ मिलिमिटर, महोत्तरीको गौशाला स्टेसनमा ३२.४ मिलिमिटर वर्षा मापन भएको छ । सिरहा र सप्तरीमा भने तुलनात्मक रूपमा कम वर्षा भएको देखिएको छ ।

मौसमविद्‌हरूका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदरभन्दा उत्तरतिर, अर्थात् नेपालको नजिक सर्ने क्रममा रहेकाले आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

वर्षाले किसानलाई केही राहत दिएको छ भने रोपाइँ गर्ने अवसर पनि मिल्न थालेको छ । यद्यपि अझै निरन्तर र सन्तुलित वर्षा आवश्यक रहेको कृषि विज्ञहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?