काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति तीव्र आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण देशका स्वास्थ्य संस्था एकपछि अर्को गर्दै धराशायी बन्दै गएको दाबी गरेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सन् २००० ब्याचका एमबीबीएस विद्यार्थीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भनेअनुसारको सेवा दिन सकिरहेका छैनन्।’
कोइरालाका अनुसार स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनु अहिलेको आवश्यकता हो । ‘स्वास्थ्य संस्था स्वतन्त्र भएर सेवा दिन सक्ने अवस्था बनाइएन भने जनस्वास्थ्यको अवस्था अझ खस्किनेछ,‘उनले चेतावनी दिए ।
स्वयं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति रहेका कोइरालाले प्रतिष्ठानबाट अध्ययन गरेका चिकित्सकहरूले देश–विदेशमा प्रतिष्ठा कमाएको उल्लेख गरे । उनले भने, ‘बीपी प्रतिष्ठानबाट पढेका चिकित्सकहरू जहाँ पुगे पनि शिर उच्च राख्ने गरी काम गरिरहेका छन्, यो गर्वको कुरा हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले समेत चिकित्सा शिक्षा तथा सेवा प्रवाहमा देखिएको राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया