जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय, जनकपुरधामले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा अनियमित नापतौल प्रयोग गर्ने २ हजारभन्दा बढी उद्योगी तथा व्यवसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को अवधिमा अनुगमन तथा निरीक्षणको क्रममा नापतौलमा ठगी गर्ने, लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने, इजाजतबिनै नापतौल यन्त्रको प्रयोग गर्ने तथा कम तौलको सामान दिएर बढी रकम असुली गर्ने व्यवसायीहरूलाई कारबाही गरिएको हो।
कार्यालय प्रमुख सुनील यादवका अनुसार, गत साउनदेखि असारसम्मको एक वर्षको अवधिमा २ हजार ४३ व्यवसायीलाई जरिवानासहित कानुनी दायरामा ल्याइएको छ। सोही अवधिमा २ हजार ६३० वटा नापतौल यन्त्रको जाँच गरिएको थियो।
सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाका केही व्यवसायीले प्रयोग गरेका नापतौल यन्त्रहरूमा गम्भीर कैफियत देखिएपछि जरिवाना गरिनुका साथै सचेतसमेत बनाइएको कार्यालयले जनाएको छ।
अनियमितता नियन्त्रण गर्न पटक–पटक गरिएको एकल तथा संयुक्त अनुगमनबाट कार्यालयले चालु आर्थिक वर्षमा मात्रै ५१ लाख एक हजार ९६० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा सो कार्यालयले ४० लाख ६७ हजार २ सय ४२ रुपैयाँ मात्र राजस्व उठाएको थियो।
कार्यालय प्रमुख यादवले कार्यालय सञ्चालनमा संरचनात्मक कठिनाइ रहेको बताए। पाँच जिल्ला कार्यक्षेत्र भइसके पनि कार्यालयको आफ्नै भवन नभएको, हाल सानो भाडाको घरबाट काम गर्नुपरेको, अनुगमन तथा खटनपटनका लागि सवारी साधन र पर्याप्त बजेटको अभावले सेवा प्रवाहमा समस्या भएको उनको गुनासो छ।
यादवले व्यवसायीहरूलाई इजाजत लिई मापदण्डअनुसारको नापतौल यन्त्र मात्र प्रयोग गर्न र उपभोक्तालाई ठग्ने कार्य नगर्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया