काठमाडौं । गृहमन्त्रालयले लागूऔषध नियन्त्रणमा अहिलेसम्मकै उल्लेख्य प्रगती हासिल गरेको दाबी गरेको छ ।
रमेश लेखक गृहमन्त्री बनेपछि औल्याएका ४ समस्यामध्ये लागूऔषध नियन्त्रण पहिलो प्राथमिकतामा राखेर काम गरेको दाबी गरिएको छ ।
गृहमन्त्री लेखकले लागूऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएको र सफलता हात पारेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै कार्यकालको पहिलो वर्षमा देशभर लागूऔषध नियन्त्रण महाअभियान चलाएको र त्यसमा सफलता प्राप्त गरेको दाबी गरिएको हो ।
मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको गृहमन्त्रीको सचिवालयको दाबी रहेको छ ।
जुन पक्राउ संख्या अघिल्लो आर्थिक बर्ष भन्दा १ हजार २ सय १ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए ।
गत आर्थिक बर्ष २०८१–०८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
सो अवधिमा लागू औषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । त्यसैगरी एक बर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागूऔषध प्रहरीले बरामद गरेको छ ।
अघिल्लो आर्थिक बर्ष भन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै ७ किलोग्राम बिगत भन्दा बढी बरामद भएको ब्युरोको तथ्यांकबाट देखिन्छ ।
ब्युरोको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९–८० मा लागूऔषध सम्वन्धी ४ हजार १ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए । भने आर्थिक वर्ष २०८०–०८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो ।
मन्त्री लेखकले लागूऔषध नियन्त्रण तथा अवैध ओसार पसारलाई नियन्त्रण उच्च प्राथमिकतामा रहेका कारण सफलता हासिल हुदै गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइम लगायत अपराधिक घटनाका पछाडी पनि लागूऔषध प्रयोग एउटा कारकका रुपमा देखिएको ब्युरोको भनाई छ ।
खैरोहेरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ । भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ ।
प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरु विरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागू औषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् । ब्युरोको विवरण अनुसार पनि गत आर्थिक बर्षमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक बर्षमा ब्युरोले ११ सय ९३ जना विरुद्ध मुद्दा चलाएको थियो । भने आर्थिक वर्ष २०७९–०८० मा ब्युरोले ९ सय ३७ जना विरुद्ध मुद्दा चलाएको थियो । विवरण अनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ ।
बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागूऔषध कारोबार तथा ओसार पसारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलले ‘नशा रहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरी बलले यो अवधिमा ठुलो मात्रामा लागूऔषध समेत सीमानाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया