नेपाल एयरलाइन्समा जहाज अभाव : सातै प्रदेशका लागि साना विमानको व्यवस्था गर्ने तयारीमा सरकार

लोकपथ
308
Shares
फाइल तस्बिर

काठमाडौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सका विमान संख्या अपुग भएका कारण हवाई सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकार नयाँ जहाज थप्ने तयारीमा गम्भीर गृहकार्यमा जुटेको जानकारी दिए ।

हाल नेपाल एयरलाइन्सका सबै ६ वटा जहाज सञ्चालनमा रहे पनि यात्रुको माग अनुसार उडान भर्न पर्याप्त नभएको मन्त्री पाण्डेले बताए । उनले एयरलाइन्सका सम्भावित प्राविधिक समस्याप्रति मन्त्रालय सचेत रहेको समेत उल्लेख गरे ।

उनका अनुसार सातै प्रदेशमा साना विमान सञ्चालन गर्न सकिने सम्भावनाबारे प्रारम्भिक छलफल अघि बढाइएको छ । यसका लागि प्रदेश सरकारहरूसँग समन्वय गरेर प्रत्येक प्रदेशका लागि एक–एकवटा सानो विमान किन्ने प्रस्तावसमेत विचाराधीन अवस्थामा रहेको जानकारी मन्त्री पाण्डेले दिए ।

मन्त्री पाण्डेले भने, ‘हामीले सोचिरहेका छौँ-यदि सातवटै प्रदेशमा सातवटा साना प्लेन सञ्चालन गर्न सकियो भने आन्तरिक हवाई सञ्जाललाई थप मजबुत बनाउन सकिन्छ।’ उनले कोसी प्रदेशबाट यस विषयमा सकारात्मक प्रतिक्रिया आएको उल्लेख गरे ।

अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा जापान, कोरिया, थाइल्याण्ड र अष्ट्रेलियाजस्ता देशहरूमा अझै नेपाल एयरलाइन्सको सेवा विस्तार हुन नसकेको भन्दै उनले पर्याप्त जहाज अभावकै कारण यस्तो स्थिति आएको बताए ।

नेपाल एयरलाइन्सलाई सशक्त बनाउने उद्देश्यले मन्त्रालयले पारदर्शी प्रक्रियाबाट नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाएको मन्त्री पाण्डेको भनाइ थियो ।

उनले थपे, ‘हामीसँग आफ्नै विमान भएका भए विदेशी एयरलाइन्सको दबाब कम गर्न सकिन्थ्यो। अहिले त कतार एयरलाइन्सले मात्र ३१ प्रतिशत नेपाली यात्रु बोकेको अवस्था छ। विदेशी कम्पनीहरूले यात्रुहरूलाई महँगो भाडामा उडाउन बाध्य बनाइरहेका छन्। त्यसैले हाम्रो एकमात्र विकल्प भनेको आफ्नै क्षमतामा वृद्धि गर्नु हो।’

मन्त्री पाण्डेले जहाज थप्ने विषयमा व्यापक छलफल भइरहेको र जतिधेरै जहाज थप्न सकिन्छ, त्यति नै हवाई सेवा सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?