काठमाडौं । कुटपिट अभियोगमा प्रहरीद्वारा हतकडीसहित ठमेल बजार क्षेत्रमा घुमाइएका ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख दानबहादुर कार्की (हाल प्रहरी अतिरिक्त महानिरीक्षक) को कार्यकालमा ‘सबक’ सिकाउन हतकडीसहित ठमेल घुमाइएका गुरुङलाई अहिले भने ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको अभियोगमा पक्राउ गरिएको हो । उनलाई बुधबार राति ठमेल क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दले बताए ।
कार्की काठमाडौं परिसरको प्रमुख हुँदा गुरुङले २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेका थिए । उनको गुण्डागर्दी व्यवहारबाट हैरान भएका प्रहरीले त्यसबेला उनलाई सबक सिकाउन हतकडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको जनाएको थियो । यो केसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
उनी कुनै समय गुन्डा नाइके कुमार घैँटेको समूहमा सक्रिय थिए । २०७२ साल भदौ ३ गते प्रहरी मुठभेडमा घैँटे मारिएपछि गुरुङ ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।
२०७२ साल पुस २५ गते उनलाई नुवाकोटबाट २८ बोर रिभल्भर र एउटा गोलीसहित पक्राउ गरिएको थियो । पक्राउका क्रममा उनी बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको खुलासा भएको थियो । त्यसबेला प्रहरीले सो ज्याकेट बरामद गरेको थियो ।
गुरुङ २०६७ साल कात्तिक ७ गते गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
यस्तै, २०७७ साल कात्तिक २६ गते ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा उनी पक्राउ परेका थिए । उनीविरुद्ध २०७६ सालमा बैंकिङ कसुरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया