एमाले नेता थपलियाको ‘सुझाव’ ले मुख्यमन्त्री लामा अप्ठेरोमा, नवनियुक्त मन्त्रीलाई शपथ नगराउन सुझाव

लोकपथ
3.3k
Shares

काठमाडौं । सत्ता साझेदार दल एमालेले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा आज बिहान नियुक्त तीन मन्त्रीलाई शपथ नखुवाउन भनेपछि लामा अप्ठेरोमा परेका छन् । 

शपथ ग्रहणका लागि तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल शपथ नखुवाउन भनेका हुन् । 

कांग्रेसको बागमती संसदीय दलको नेताबाट मंगलबार लामालाई हटाइएको थियो । तर मुख्यमन्त्री लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्ति दिएका छन् ।

एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई आफूले फोन गरेर तत्काल शपथ नखुवाउन भनेको बताए । प्रदेशको राजनीति अप्ठ्यारो मोडमा रहेका बेला मन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउनु गलत हुने उनको भनाइ छ । 

आज नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन हुँदैछ । नेता इन्द्र बानियाँले मनोनयन दर्ता गरिसकेका छन् । 

बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।

मतदान आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलका नेता लामाले हिजो भएको मतदानमा विश्वासको मत पाउन नसकेपछि आज दलको नेता छनौटका लागि निर्वाचन हुन लागेको हो । हिजो भएको अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।

संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

लामा पक्षबाट ललितपुरबाट निर्वाचित सांसद रामकृष्ण चित्रकारलाई उठ्नका लागि अनुरोध गरे पनि उनले मानिसकेका छैनन् । उनी नउठेको खण्डमा लामा नै उठ्ने सम्भावना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?