काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि नेता इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयन भइरहेको छ ।
बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम ११ बजेभित्र सञ्चालन हुनेछ । मतदान आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ ।
संसदीय दलका नेता लामाले हिजो भएको मतदानमा विश्वासको मत पाउन नसकेपछि आज दलको नेता छनौटका लागि निर्वाचन हुन लागेको हो । हिजो भएको अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो ।
संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
लामा पक्षबाट ललितपुरबाट निर्वाचित सांसद रामकृष्ण चित्रकारलाई उठ्नका लागि अनुरोध गरे पनि उनले मानिसकेका छैनन् । उनी नउठेको खण्डमा लामा नै उठ्ने सम्भावना छ ।
उता, बागमती प्रदेशका मुख्यमन्त्री लामाले संसदीय दलको नेताबाट हटेको भोलिपल्टै आज बुधबार तीन मन्त्री नियुक्त गरेका छन् । उनले धादिङका गोविन्द लम्साल र चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइँदा श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ । श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । यद्यपि, मन्त्रालय परिवर्तन पनि हुन सक्ने छ ।
उनीहरूलाई आज बिहान ११ बजे शपथ दिलाउने तयारी भइरहेको छ ।
बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त थिए । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया