काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीमा विशेष महाधिवेशनको माग गरेका छन्
पछिल्लो समय पार्टी नेतृत्वप्रति जनार्दनको व्यक्तिगत रुपमा देखिएको तिक्ततापछि उठेका सवालबारे जवाफ दिँदै उनले सो माग गरेका हुन् ।
उनले पार्टीलाई छुट्टै वैचारिक र राजनीतिक धरातलबाट उठाउनका लागि विशेष महाधिवेशनको खाँचो रहेको औँल्याए ।
‘गत वर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णय अनुसार आषाढदेखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ,’ उनले भनेका छन् ।
त्यस्तै उनले पार्टीले विभिन्न अभियानबाट प्राप्त गरेको उर्जा नेतृत्वको कमजोरीका कारण पार्टीको शाख नै गिरेको जिकिर गरे ।
उनले भिजिट भिसा प्रकरणमा सरकारमाथि दबाब बढाउनुको साटो पार्टी नेतृत्वले २ बुँदेको नाममा आफ्नो साख गिराउने काम भएको टिप्पणी गरे ।
उनलेअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै २ बुँदे सहमतिको नाममा सरकारसँग मिल्न गएपछि अभियानबाट जनतामा पलाएको विश्वास र भरोसा टुटाएको टिप्पणी गरे । साथै त्यसलाई उचाइमा पुर्याउनका लागि गम्भीर आत्मसमिक्षा गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन् ।
‘पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको उर्जालाई २ बुँदे सहमति पश्चात् गिरेको पार्टीको शाखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौँ,’ उनले पार्टीलाई सुझाव दिँदै भनेका छन् ।
त्यस्तै केही वर्षदेखि पार्टीको नेतृत्व तहबाटै पार्टी विभाजन हुन्छ भनेर गरिएको हल्ला र गरिएको भ्रमप्रति सचेत रहन समेत आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै जनार्दनले भनेका छन् :
ने.क.पा. (माओवादी केन्द्र) पार्टी बारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।
१. बिगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।
२. गत बर्ष सबै प्रदेसहरुमा भएको परामर्ष बैठक पश्चात केन्द्रिय समितिको बैठकमा भएको बहश र निर्णय अनुसार आषाढ देखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहश गरौ। जसले पार्टीको पुनरगठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकि राजमार्ग र मध्य पहाडी लोकमार्ग ( पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको उर्जालाई २ बुदे सहमति पश्चात् गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौ।
४. यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन। यसको समाधान संबिधानको संशोधन,अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनरगठन नै हो।
अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्र्न मद्दत पुग्दछ।
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुमा राष्टलाई एकताबद्द गर्नेछ।
विशेष महाधिबेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, बिधि बिहिनता,सहित नयाँ पुस्ताको भावना र सपना संबोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया