बच्चा जन्मिँदा आमाबाबु जति खुसी हुन्छन्, नवजात अवस्थामा शिशुमा देखिने रोगले त्यति नै पिरोल्छ । अझै पनि धेरै अभिभावकहरुमा चेतनाको अभावले गर्भावस्थामा हेरचाह, चेकजाँच र पोषणयुक्त खानेकुरा नहुँदा बच्चामा समस्या देखापर्दछ ।
आमाबाबुलाई पिरोल्ने त्यस्तै एक गम्भीर समस्या हो, नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस (एनईसी) । विशेषगरी समयअगावै जन्मिएका शिशुहरुमा यो देखिने गर्दछ । नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस शिशुहरुमा देखिने गम्भीर तथा प्राणघातक आन्द्राको रोग हो ।
हामीले खास के हो नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस ? यसको कारण, लक्ष्यण र उपचारबारे ईशान बाल तथा महिला अस्पतालका वरिष्ठ बाल शल्यचिकित्सक प्रा.डा. आरपी चौधरीसँग कुराकानी गरेका छौँ :
के हो नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस ?
सामान्य भाषामा भन्नुपर्दा नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिस अर्थात् छोटकरीमा एनईसी भनेको आन्द्रा कुहिनु हो । यो प्रायः २८ देखि ३६ हप्ता भित्र जन्मिएको बच्चाहरुमा यसको समस्या देखिने गर्दछ । बच्चा गर्भमा रहेको २० हप्तामा अल्ट्रासाउन्ड गर्दा आन्द्राहरु बन्नमा केही समस्या भएमा, आन्द्राबाहिर निस्केको (हरनीया) र आन्द्रा छातीमा छिरेको, मिर्गौला, मुटु जस्ता अरु समस्या भएमा आमाको गर्भमा नै थाहा पाउन सक्छौँ । तर ३६ हप्तामा जाँच गराउँदा भने आन्द्रा सुनिएको, आन्द्रामा ग्यासहरु भएको कुरा पहिले नै थाहा हुन्छ । आन्द्राको इन्फेक्सन र नेक्रोटाइजिंग इन्टेरोकोलाइटिस नै हो भनेर किटान गर्ने भने सकिँदैन, यसको शंका मात्र हुने गर्छ ।
एनईसी प्रिम्याच्योर शिशुमा मात्र देखिने भन्ने भने हुँदैन । ४० हप्तामा जन्मिएका र जन्मिएको केही महिना भएका बच्चाहरुमा पनि यो रोग देखिन सक्छ ।
यो रोगलाई किन घातक भनिन्छ ?
बच्चा आमाको गर्भमा हुँदा आमाकै एन्टीबडी रोगप्रतिरोधात्मक क्षमताले बच्चा सुरक्षित भएको हुन्छ ।
आमा र बच्चासँग जोडिएको नाभिले आमाबाट बच्चामा त्यो क्षमता जाने गर्छ । ४० हप्ता भएर जन्मिएको बच्चामा जन्मिएको ६ महिनासम्म त्यही आमाको एन्टीबडीले काम गर्ने गर्छ । र विस्तारै ६ महिनापछि बच्चाले आफैँ त्यो क्षमता वृद्धि गर्दै जान्छ । तर जब बच्चा समय भन्दा अगाडि नै जन्मिन्छ । त्यस्तो बच्चामा त्यो क्षमता पूर्ण रुपमा विकसित भइसकेको हुँदैन र उनीहरुको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यस्तो बच्चामा यो रोग देखिने सम्भावना हुन्छ । यदि त्यस्तो प्रिम्याच्योर बच्चामा यसको समस्या देखियो भने बच्चा किटाणुसँग लड्न सक्दैन र यो रोग उसको लागि घातक बन्न सक्छ ।
यसका लक्षणहरु
सामन्यतया नवजात शिशुले जन्मेको २४ घण्टा भित्र नै दिसा गर्ने गर्छ र नवजात शिशुको दिसा गाढा हरियो हुनेगर्छ । यदि बच्चाले त्यति अवधि भरमा दिसा गरेन, बच्चालाई ज्वरो आएको छ, पेट फुलेको छ, बच्चा दुध चुस्न खोजिरहेको छैन अथवा हरियो बान्ता गर्छ भने बच्चामा नेक्रोटाइजिङ्ग इन्टेरोकोलाइटिसको संक्रमण भएको हुनसक्ने शंका गरिन्छ । यी लक्षणहरुमा पनि यदि बच्चाले हरियो बान्ता गर्छ भने त्यो बच्चामा सर्जीकल समस्या नै रहेको छ भनेर बुझ्नुपर्छ ।

यदि बच्चा ४० हप्तामा नै जन्मिएको र केही महिना भइसकेको बच्चामा पनि पेट फुल्ने, खान मन नगर्ने, सामान्य अवस्था भन्दा बढी रुने, बच्चा अस्वस्थ देखिने र बच्चाको वृद्धि विकास अलि ढिलो हुने जस्ता लक्षणहरु देखिन्छन् ।
यो लक्षण देखापरिसकेको बच्चाको इन्फेक्सन रगतसम्म पुगिसकेको छ भने त्यस्तो बच्चालाई सेप्टिसेमिया हुनसक्छ । जसले मुटु, फोक्सो, मिर्गौला र दिमागलाई पनि असर गर्छ । यदि आन्द्राको इन्फेक्सन नभएर रगतकै इन्फेक्सन भएको छ भने पनि आन्द्रामा इन्भेक्स हुनसक्छ ।
कस्तो बच्चामा पछि पनि यो समस्या देखिन सक्छ ?
जुन बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ, जसले आमाको दुध खान सक्दैन वा खान पाएको छैन, फरमूला फिडिङ गरेको छ, त्यस्ता बच्चाहरुमा जन्मने बित्तिकै यो समस्या नभए पनि पछि गएर देखिन सक्ने सम्भावना हुन्छ
यसको उपचार
एईसीको उपचार भनेको मेडिकल मात्र हो । यसलाई घरमा नै निको पार्न सम्भव हुँदैन । यसमा बच्चालाई खान नदिने, सलाइन दिएर राख्ने, उसलाई एन्टीबायोटिकहरु चलाउने, दिसा क्लीयर गर्ने सक्ने अवस्थासम्म गर्ने मात्र हो ।
त्यसपछि भनेको बच्चालाई देखिएको लक्षणको आधारमा रगत जाँच गराउँदा रगतमा इन्फेक्सन देखाउछ, सेतो रगत बढेको देखाउछ, रगत रोक्ने क्षमता प्लेटलेट काउन्ट पनि घट्नु (सीआरपी), रगत इन्फेक्सनको प्यारामिटर पनि बढेको देखाउँ भने हामीले बच्चाको अवस्था हेरेर एन्टीबायोटिकहरु सुरु गर्ने सक्छौँ । त्यो एन्टीबायोटिक बच्चालाई इन्जेक्सबाट दिइन्छ ।
त्यस्तै एक्स–रे गर्दा पेटभरिकै सानो र ठुलो आन्द्रा फुलेको छ, आन्द्रा भित्र ग्यास जमेको छ, आन्द्रा भित्र मात्र नभएर आन्द्राको पर्खालमा समेत ग्यासहरु छिरिसकेको अवस्था छ भने यो अवस्था भनेको निकै जटिल अवस्था हो । यो अवस्थामा हामीले बच्चालाई केही नखुवाई खालि पेट राख्ने गर्नुपर्छ । यदि खान दिएमा खानाको प्रेसरले गर्दा आन्द्रा फुट्ने, आन्द्रा कुहिने हुन सक्छ, जसले गर्दा धेरै नै जटिल अवस्थामा पुग्छ ।
यदि एक्स–रे गर्दा पहिले नै पेटमा आन्द्रा फुटेर दिसा जमिसकेको अवस्था छ भने त्यसलाई फ्री ग्यास भनिन्छ । त्यस्तो अवस्थामा भने ढिला नगरि तुरुन्तै बच्चाको सर्जरी गर्नुपर्ने हुन्छ ।
एउटा नवजात शिशुको जन्म भइसकेपछि चिकित्सकले त्यसको शिशुको हरेक अवस्थाको जानकारी लिनुपर्ने हुन्छ । शिशुको अवस्था सामान्य छ कि छैन ?, स्वास फेर्न सकेको छ कि छैन ?, दिसा गरेको छ कि छैन ? कस्तो रंगको गरेको छ ?, बच्चाको दिसा गर्ने प्वाल छ कि छैन ?, बच्चाको पेट फुलेको छ कि छैन ? जस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।
यदि आन्द्रामा थोरै मात्र प्वाल परेको वा फुटेको छ भने त्यसलाई मर्मत मात्र गरे पनि पुग्छ । त्यस्तो अवस्थामा मेडिकल ट्रिटमेन्टले आफैँ पनि सिल्ड हुन्छ । आफैँ सिल्ड भएको अवस्थामा यदि बच्चा सामान्य हुँदै गयो, बच्चाको पेट घट्दै गयो र दिसा गर्दै गयो भने हामी विस्तारै बच्चालाई दुध खान दिन्छौँ । यो रागको यो नै सबै भन्दा राम्रो र सजिलो उपचार हो । तर ठुलो आन्द्रा र सानो आन्द्रा सबैतिर प्वालै प्वाल छ भने चाँही सर्जरी नै गर्नुपर्ने हुन्छ ।
शरीरको अन्य भागलाई असर पुर्याउँछ ?
आन्द्रा हाम्रो शरीरको महत्वपूर्ण भाग हो । हाम्रो शरीरको सबै अंग एक अर्कोसँग जोडिएको हुन्छ । यो भगमा नै इन्फेक्सन हुँदा शरीरको अन्य भागमा स्वतः असर पुर्याउँछ । आन्द्राको इन्फेक्सन हुने बित्तिकै रगतमा पनि हुने गर्छ । त्यही रगत हाम्रो मुटु, फोक्सो, मृगौला र दिमाग सबै तिर पुग्छ र शरीरको सबै अंगले काम गर्न छोड्छ । आन्द्राको इन्फेक्सनलाई समयमै पत्ता लगाएर उपचार गरेर रोक्न सकियो भने यी सबै कुराबाट बचाउन सकिन्छ ।
अन्य रोगको कारणले पनि यो रोग लाग्न सक्छ
हिर्शस्प्रङ डिजिज (Hirschsprung disease) जस्ता कारणले पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । यो भनेको ठुलो आन्द्रामा नशाको कमी हुनु हो । यसमा भएको नशाको कमीले बच्चाले दिसा गर्न सक्दैन र दिसा ठुलो आन्द्रामा जम्मा भएर बस्छ । त्यो बढ्दै बढ्दै सानो आन्द्रा सम्म पुग्छ, त्यसपछि आन्द्रामा इन्फेक्सन हुन थाल्छ । यसलाई समयमा नै उपचार गर्नुपर्छ । यदि समयमा नै उपाचर भएन यो एकदमै जटिल अवस्थामा पुग्छ । यसलाई हामी मेडिकल भाषामा इन्टरोकोलाइटिस भन्छौँ ।
नवजात शिशु वा कुनै पनि शिशुलाई नेपोटोलाइजिङ कोलाइटि, हिर्शस्प्रङ डिजिज, इन्टरोकोलाइटिस वा दिसाको प्वाल नभएर होस् यस्ता कारणले पनि नेक्रोटाइजिंग इन्टेरोकोलाइटिस हुनेगर्छ । समयमा नै यी रोगहरु पत्ता लगाउन जरुरी छ । जसले गर्दा यसको उपचार समयमै हुन्छ । रिजल्ट पनि छिटो देखिन्छ बच्चा रिकभर पनि छिट्टै हुन्छ । तर कहिलेकाँही भने भने कारण थाहा नभइ पनि नेक्रोटाइजिंग इन्टेरोकोलाइटिस हुने गर्छ ।
नवजात शिशुको जन्मपछि चिकित्सकले नै ध्यान दिनुपर्छ
एउटा नवजात शिशुको जन्म भइसकेपछि चिकित्सकले त्यसको शिशुको हरेक अवस्थाको जानकारी लिनुपर्ने हुन्छ । शिशुको अवस्था सामान्य छ कि छैन ?, स्वास फेर्न सकेको छ कि छैन ?, दिसा गरेको छ कि छैन ? कस्तो रंगको गरेको छ ?, बच्चाको दिसा गर्ने प्वाल छ कि छैन ?, बच्चाको पेट फुलेको छ कि छैन ? जस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।
जसले गर्दा यस्तो रोगको पहिचान छिट्टै हुन्छ । यदि बच्चामा त्यस्ता किसिमका समस्याहरु रहेछन् भने समयमा नै उपचार गर्न सकिन्छ ।
(ईशान बाल तथा महिला अस्पतालका वरिष्ठ बाल शल्यचिकित्सक प्रा.डा. आरपी चौधरीसँग कुराकानीमा आधारित ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया