होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको स्वास्थ्य परीक्षण गरियो

लोकपथ
0
Shares

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका सुकुमबासीहरुको स्वास्थ्य परीक्षण थालिएको छ ।

सरकारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेर उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।

सुकुमबासीहरुलाई त्यहाँ बाल रोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श दिइएको हो ।

शुक्रराज ट्रपिकल, कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएको शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

उनीहरुलाई शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा ‘रेफर’ गर्ने व्यवस्था मिलाइएको छ ।

अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन् । बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको बताइएको छ ।

त्यस्तै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कीर्तिपुर क्षेत्रमा वीर अस्पतालको नेतृत्वमा रहेको टोलीले आँखा र दाँतको उपचारमा आकर्षण देखिएको पोखरेलको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ ।

सरकारले गत शनिबारदेखि काठमाडौंका विभिन्न स्थानबाट सुकुमबासी बस्ती हटाउन सुरु गरेको छ । बागमती किनार, मनोहराको किनार लगायत विभिन्न स्थानमा छरिएर रहेका सुकुमबासीहरुलाई हटाएको सरकारले अन्य स्थानमा रहेका सुकुमबासीहरुलाई समेत व्यवस्थापन गरिरहेको छ । उनीहरुलाई विभिन्न स्थानमा स्थायी व्यवस्थापन गर्न लागेको सरकारले अहिले होल्डिङ सेन्टरमा राखिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?