काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघसंस्था जनतालाई सकारात्मक परिवर्तन अनुभूति गराउने थलो बन्नुपर्ने बताएका छन् ।
पार्टीको समाज कल्याण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बदलिँदो राजनीतिक परिस्थितिमा यस्ता संस्थामा सक्रिय सहभागिता जनाउँदै माओवादीको छवि मजबुत बनाउने खालको भूमिका निर्वाह गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले माओवादीले नेतृत्व गरेका संघसंस्थामा स्पष्ट नीति, कार्यदिशा र एकरूपता आवश्यक रहेको उल्लेख गरे । ‘जहाँ जहाँ हाम्रा साथीहरू सहभागी हुनुहुन्छ, ती संस्था उत्कृष्ट हुनुपर्छ,‘उनले भने, ‘सामाजिक संघसंस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको निर्णयअनुसार तल्लो तहसम्म एउटै धारणा निर्माण हुनुपर्छ ।’
प्रचण्डले माओवादीको त्याग, तपस्या र बलिदानीको ऐतिहासिक पृष्ठभूमिका कारण जनतामा विशेष अपेक्षा रहने बताए । उनले स्थानीय तहमा माओवादी नेतृत्व भएका पालिकाहरू धेरैजसो क्षेत्रमा अग्रणी रहेको दाबी गर्दै अझ व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढे अझ राम्रो परिणाम देखिन सक्ने धारणा राखे ।
उनले कार्यकर्ताहरूलाई खुलेर सामाजिक संघसंस्थामा संलग्न भई जनताको पक्षमा काम गर्न पनि आग्रह गरे । ‘माओवादीले नेतृत्व गरेका संस्थाबाट जनतालाई फरक अनुभूति दिलाउन सक्नुपर्छ,‘प्रचण्डले भने, ‘त्यसबाट मात्र ‘माओवादीले राम्रो गर्छ’ भन्ने धारणा जनतामा स्थापित हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया