पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल–भारतबिच गृहकार्य जारी छ : मन्त्री खड्का

लोकपथ
77
Shares

धनगढी । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले वर्षौँदेखि अलपत्र परेको बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नेपाल र भारत दुवै देशको हितमा हुने गरी अघि बढाउने गृहकार्य भइरहेको बताएका छन् ।

प्रेस युनियन कैलालीद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाबारे महत्त्वपूर्ण सहमति जुटाउने तयारी भइरहेको जानकारी दिए ।

‘पञ्चेश्वर परियोजना सम्झौता भएको दुई दशक बितिसक्यो, तर अझै पनि कार्यान्वयन हुन सकेको छैन, ‘मन्त्री खड्काले भने, ‘यस विलम्बका कारण नेपालले करिब एक खर्ब रुपैयाँ बराबरको घाटा बेहोर्नुपरेको छ ।’

उनका अनुसार प्रधानमन्त्री ओलीको भदौ ३१ गते तय भएको भारत भ्रमणका क्रममा परियोजनामा बाँकी रहेका विवादास्पद विषयहरू समाधान गर्दै समझदारीमा पुग्ने लक्ष्यसाथ मन्त्रालयले तयारी गरिरहेको छ ।

नेपालको ऊर्जा क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि स्रोतसाधन, वित्तीय अभाव र कानुनी अड्चनका कारण पश्चिम सेती जस्ता महत्त्वपूर्ण जलविद्युत् परियोजनाहरू अघि बढ्न नसकेको मन्त्री खड्काले बताए ।

उनले नेपाल–भारतबिचको ऊर्जा सहकार्यलाई व्यवहारमा उतार्न राजनीतिक इच्छाशक्ति आवश्यक रहेकोसमेत उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?