काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित १६ जनाको परिवार नै रहस्यमयी तरिकाले गायब भएको छ ।
केहीदिनदेखि हराइरहेको उक्त परिवारको बारेमा स्थानीयले सोमबार मात्रै चाल पाए ।
लोपोन्मुख जातीमा पर्छ हराइरहेको हायु जातीको १६ जनाको परिवार । उनीहरुले सरकारले दिँदै आएको भत्ता केही दिनअघि मात्र बुझेका थिए । प्रतिमहिना सरकारले उनीहरुलाई ४ हजारका दरले भत्ता दिँदै आएको थियो । हरेक तीनतीन महिनामा भत्ता पाउने हुँदा १६ जनाको परिवारले एकैपटक झण्डै दुई लाख रुपैयाँ पाएको थियो । १९६ हजार भत्ता बुझेपछि उक्त परिवार गायब भयो ।
गोलन्जोर गाउँपालिका–६ की वडासचिव गायत्री भण्डारीका अनुसार उनीहरुले केहीदिनअघि मात्रै एकैपटक ३ महिनाको भत्ता लिएका थिए ।
‘उक्त परिवारले केही दिनअघि मात्रै भत्ता लिएको थियो । सरकारले प्रतिव्यक्ति ४ हजारका दरले भत्ता दिने गरेको छ । एकैपटक तीन महिनाको भत्ता दिइएको थियो,’ भण्डारीले लोकपथसँग भनिन् ।
उक्त परिवारमा कुल १८ जना सदस्य रहेका छन् । जसमध्ये एक छोरी काठमाडौं र एक बुहारी विदेशमा रहेकी थिइन् ।
केही वर्षअघि उक्त परिवारका जेष्ठ सदस्य भीरबाट लडेर मृत्यु भएको थियो । अहिले उक्त परिवारको रेखदेख उर्मिला हायुले गर्दै आइरहेकी छिन् । उनका ६ जना छोरा, ६ जना छोरी, एक जना बुहारी, एक जना ज्वाइँ र एकजना नाती गरी १६ जनाको परिवार रहेको थियो ।
उनीहरु एकै घरमा बस्दै आएका थिए । उनीहरुको घर अन्य छिमेकीको घरभन्दा १०–१५ मिनेटमा पर्छ । उनीहरुले गाईबस्तु, कुखुरा र सुँगुर समेत पालेका थिए । एकाएक ती सबैलाई त्यतिकै छाडेर उनीहरु गायब भएका हुन् ।
गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार उनीहरुको घरको खाना बनाएर खाने छाप्रोमा आगलागी भएको छ ।
साथै अरुसँग ल्याएर पालेको अधियाँ गाइबस्तु र कुखुराहरु त्यतिकै रहेको उनले बताए ।
‘खाना पकाएर खाने ठाउँ बनाइएको छाप्रोमा आगलागी भएको देखिएको छ । अन्य अवस्था सामान्य भए पनि अरुको घरबाट अधियाँ पालेको गाइवस्तु र कुखुरा अव्यवस्थित रुपमा देखिन्छ,’ उनले भने ।
त्यस्तै उक्त परिवार ऋणमा डुबेको समेत बाहिरिएको छ । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार ऋण उठाउन बैंक तथा वित्तीय संस्था र अन्य व्यक्तिहरु समेत ऋण उठाउन जाने गरेको थियो । केही दिनअघि पनि केही व्यक्तिहरु ऋण उठाउन पुगेका थिए । ठूलो परिवार र आर्थिक अभावका कारण लागेको ऋण तिर्न नसक्दा हायु परिवार तनावमा रहेको थियो ।
भत्ता पाएपछि घरमा सुँगुर काटेर भोज समेत लगाएको थियो हायु परिवारले । खाएका केही भाँडाहरु समेत त्यहीँ छाडिएको बताइएको छ ।
एकाएक परिवार नै गायब भएको खबरपछि वडाध्यक्ष श्रेष्ठ बिहानै उनीहरुको घर पुगेका थिए । त्यहाँ कोही नदेखेपछि प्रहरीलाई खबर गरिएको छ । उनीहरुसँग मोबाइल रहेको तर सबै मोबाइल स्वीच अफ रहेको छ । जसकारण अन्तिम लोकेशन कहाँ देखाएको छ ट्रेस गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि…
एकाएक गाउँबाट १६ जनाको परिवार नै गायब
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया