काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ ।
उजुरीकर्ता युगलराज पौडेल (सफल) ले वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा काण्ड, र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको भन्दै तत्काल छानबिन र कारबाहीको माग गरेका हुन् ।
पौडेलले आयोगमा दायर गरेको उजुरीमा, ‘मिति २०८१ मङ्सिर २० गतेका दिन मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ । त्यस्तै पूर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ’ भनिएको छ ।
त्यस्तै, राई आपूर्ति सचिव हुँदा नेपाल आयल निगमले विभिन्न जिल्लाहरूमा खरिद गरेको डेढ अर्ब रुपैयाँभन्दा बढीको जग्गा खरिदमा समेत अनियमितता भएको उजुरीमा उल्लेख छ । निगमका तत्कालीन कार्यकारी निर्देशकमाथि मुद्दा चलाइएको भए पनि निर्णय गर्ने प्रमुख पदमै रहेका राईलाई भने उम्काइएको दाबी गरिएको छ ।
उनले अख्तियार प्रमुखले स्वयं राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्ने माग गर्दै उजुरीमा भनेका छन्, ‘राई मुछिएका फाइलहरू पुनः खोल्न र भ्रष्टाचार निवारण ऐन अनुसार कानुनी कारबाही अगाडि बढाउन आयोगको ध्यानाकर्षण गराउँछु ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया