काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धी हुँदैछ भन्ने सुन्नमा आएको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको राष्ट्रियता झनै कमजोर बन्दै गएको र यस्तो सन्धीले थप खतरा निम्त्याउने बताए । उनले भने, ‘यदि नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने, यो सिधै राष्ट्रिय हितमाथि हमला हुनेछ।’
खनालले कोशी उच्चबाँध निर्माणको विषय पनि उठाउँदै सरकारलाई नागरिक र राजनीतिक दलहरूलाई जानकारी दिन आग्रह गरे । उनले गण्डक, टनकपुर, शारदा जस्ता विगतका सन्धीहरू नेपालको हितमा नभएको उदाहरण दिँदै भने, ‘अबका कुनै पनि ठूला बाँधहरू निर्माण गर्दा राष्ट्रिय हितको ग्यारेन्टी हुनुपर्छ।’
उनले नागरिकता विधेयकमाथि पनि आपत्ति जनाए। आमाको नामको आधारमा मात्र नागरिकता दिन सकिने व्यवस्था ल्याउन खोजिएको भन्दै उनले चिन्ता व्यक्त गरे । खनालका अनुसार, यसको उद्देश्य उत्तर सीमाबाट आएका झण्डै ४० हजार मानिसलाई नागरिकता दिने हो, जुन दीर्घकालीन रूपमा राष्ट्रिय हित विपरीत हुनसक्छ।
उनले सबै देशभक्त नागरिक र राजनीतिक दलहरूलाई सतर्क रहन पनि आह्वान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया