सुनसरीमा लम्पी स्किन रोगको संक्रमण तीव्र, ५३ पशुचौपायाको मृत्यु

लोकपथ
259
Shares

इनरुवा ।  सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा लम्पी स्किन रोगको संक्रमण तीव्र रूपमा फैलिएको छ । जिल्लाको सदरमुकाम इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा यो रोग देखिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताका अनुसार हालसम्म जिल्लामा १,५१६ वटा पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ वटा पशु संक्रमित छन् भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटा मात्रै संक्रमित रहेका छन् ।

रोगको कारण हालसम्म ५३ वटा पशुचौपायाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटा छन् । संक्रमण नियन्त्रण तथा रोकथामका लागि हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाइएको प्रमुख मेहताले जानकारी दिए ।

लम्पी स्किन रोगले पशुपालक किसानको जीवनयापनमा असर पुर्‍याउँदै आएको छ । संक्रमण नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालयले खोप अभियानलाई तीव्र बनाएको र सावधानी अपनाउन पशुपालकलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?