रौतहटको चन्द्रपुरमा खानेपानी अभावपछि निःशुल्क शुद्ध पानी वितरण सुरु

लोकपथ
154
Shares

रौतहट। लामो समयदेखि तराई–मधेस क्षेत्रमा वर्षा नहुँदा रौतहट जिल्लाको विभिन्न स्थानमा खानेपानीको चरम अभाव देखिएको छ ।
चन्द्रपुर नगरपालिका–२ स्थित जोगी टोललगायतका बस्तीमा धाराहरू सुक्दै जाँदा स्थानीयवासी शुद्ध पिउने पानीको अभावमा पिल्सिएका छन् ।

सङ्घीय तथा मधेस प्रदेश सरकारले यस क्षेत्रलाई औपचारिक रूपमा सुक्खाग्रस्त घोषणा गरिसकेका बेला चन्द्रपुर नगरपालिकाले अक्सफाम नेपाल र ग्रामीण विकास केन्द्र नेपाल (आरडीसी) सँगको सहकार्यमा निःशुल्क शुद्ध पानी वितरण कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रमको पहिलो चरणमा चन्द्रपुर–२ अन्तर्गतको जोगी टोलका ३० भन्दा बढी घरधुरीलाई प्राथमिकतामा राखी शुद्ध पानी वितरण गरिएको आरडीसी नेपालकी फिल्ड सुपरभाइजर ज्योति फुयाँलले जानकारी दिइन् । ती घरधुरी स्थानीय जलस्रोतबाट पूर्णरूपमा वञ्चित भएका कारण तत्काल राहत स्वरूप पानी आपूर्ति गरिएको हो ।

नगरप्रमुख सञ्जय कुमार काफ्लेको विशेष पहलमा सुरु भएको यो कार्यक्रम ‘पूर्वानुमानमा आधारित आपतकालीन प्रतिकार्य परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । नगरप्रमुख काफ्लेले भने, ‘संकटकालीन अवस्थामा जनताको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो पहिलो दायित्व हो । पानीको अभावले थप समस्या नहोस् भनेर तत्काल योजना कार्यान्वयनमा ल्याइएको हो।’

कार्यक्रम संयोजक चिरञ्जीवी महतोका अनुसार जोगी टोलमा गरिएको परीक्षण सफल भएकोले अब थारुटोल, बलम्पाकी टोल, सिमनी टोल, नर्सरी टोल, कार्की टोल, कलटोल, रैया टोल, सिरानटोल र कछरिया टोलमा पनि शुद्ध पानी वितरण गरिनेछ। ती स्थानहरूमा हजार लिटर क्षमताका पानी ट्याङ्की राखी नियमित आपूर्ति गरिने योजना छ।

आरडीसी नेपालका अध्यक्ष पारस हुसेनले चन्द्रपुरबाहेक रौतहटका अन्य पालिकाहरूमा पनि यस्तै संकट रहेको उल्लेख गर्दै स्रोत र सहकार्यको आधारमा कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।

यस अभियानले आपतकालीन अवस्थामा स्थानीय सरकार र गैरसरकारी संस्थाबीचको सहकार्यले कस्तो प्रभावकारी भूमिका खेल्न सक्ने हो भन्ने उदाहरण प्रस्तुत गरेको छ । विशेषगरी संकटमा परेका पिँधमा रहेका समुदायलाई आधारभूत सेवा उपलब्ध गराउनु राज्य र समाजको दायित्व भएको कुरा पनि यो पहलले उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?