काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टीले नै पठाएर राष्ट्रपतिको जिम्मेवारीमा गएको बताएकी छन् ।
शुक्रबार दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले राष्ट्रपति भइसकेपछि सदस्यता छाडेको र अहिले रिन्यू गरेको बताइन् ।
एमालेको हालैको निर्णयले भण्डारीले स्वेच्छाले पार्टी छाडेकाले उनलाई पुनः सक्रिय गराउने विषयमा पार्टीले निर्णय गर्नुपर्ने दाबी गर्दै आइरहेको छ । तर भण्डारीले आफूलाई पार्टीले नै जिम्मेवारीमा पठाएको र त्यही जिम्मेवारी अनुसार अहिले राष्ट्रपतिको कार्यकालबाट बिदा भएपछि सदस्यता नविकरण गरेको बताइन् ।
साथै जननेता मदन भण्डारीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा ल्याएको भन्दै त्यो सपना पूरा गर्न आफू लागिपरेको बताइन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही वर्षदेखि उक्त नारालाई एमालेको नारा बनाएका छन् । तर भण्डारीले भने मदन भण्डारीले देखाएको उक्त सपना आफूले पूरा गर्ने बताइन् ।
‘म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको सपथ खाएर गएको हो । त्यतिखेर पार्टीले नै निर्णय गरेर पठाएको हो । मैले पार्टी छाडेर, पार्टी परित्याग गरेर अर्को हिसावले गएको होइन । पार्टीको जिम्मेवारी भएर नै गएको हो र आइसकेपछि पनि मैले आफ्नो विधि अनुसार नै नविकरण गरेको हो र म अहिले पनि नेकपा एमालेको परिवारको सदस्य छु भनेर भन्न खोजेको हो,’ भण्डारीले भनिन्, ‘जननेता मदन भण्डारीले समृद्ध नेपाल, सुखी नेपाली कसरी बनाउन सकिन्छ भन्ने जुन जनताको बहुदलीय जनवादको आधारमा कार्यक्रम ल्याउनु भएको छ, त्यसलाई हामीले त्यसको आदर्श मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने हो भन्ने कुरा तपाईँहरुलाई भन्न खोजेको हो ।’
त्यस्तै उनले आफ्नो पार्टी सदस्यता पेण्डिङमा राखिएको विषयमा समेत आपत्ति जनाइन् । उनले आफूले एक वर्ष अघि नै पार्टी सदस्यता नविकरण गरेको भन्दै अहिले आएर विवाद झिक्नुपर्ने कारण नरहेको दाबी गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया