काठमाडौं । सुनकोशी गाउँपालिका–६ स्थित शीतलपाटीमा गएराति एक गम्भीर सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन् ।
बीपी राजमार्गअन्तर्गत पर्ने उक्त स्थानमा काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–०२४ च ९९१३ नम्बरको ‘योद्धा पिकअप’ सवारी सडकबाट करिब ५०० मिटर तल खोँचमा खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, दुर्घटनामा मकवानपुरको मनहरि गाउँपालिका–४ निवासी ३५ वर्षीय धर्मराज रेग्मीको ज्यान गएको हो । गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट पुर्याइएको थियो तर बिहीबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा गाडी चालकसमेत रहेका धर्मराजका भाइ नीरज रेग्मी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया