काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा सुशासन कायम नहुनुका कारण गरिबी, बेरोजगारी र घुसखोरी झनै बढ्दै गएको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले पटक–पटक भएका राजनीतिक परिवर्तनपछि पनि मुलुकमा सुशासन नआएको गुनासो गरे । उनले व्यवस्था फेरिए पनि शासनको चरित्र परिवर्तन नहुनु गम्भीर समस्या भएको बताए ।
भुसालले मुलुकमा भ्रष्टाचार अन्त्य गरेर सुशासन स्थापनाका लागि ‘बासी भए पनि’ कम्युनिष्ट आन्दोलनको आवश्यकता रहेको उल्लेख गरे । ’आज दलाल पुँजीवाद छ, सुशासन छैन । रोजगारी छैन, बेरोजगारी दिनानुदिन बढ्दैछ,‘भुसालले भने, ‘हामी घुस खान नसकिने पार्टी, घुस खान नसकिने राज्य कहिले बनाउँछौं ? त्यस्तो राज्य बनाउने कुरा अहिले पनि चुनौतीपूर्ण देखिन्छ ।’
उनले राजनीतिक दलहरू संविधान र निर्वाचन प्रणालीलाई बहाना बनाएर जनताको सवालबाट भाग्न खोजेको आरोप पनि लगाए । उनले प्रश्न गर्दै भने, ‘घुस नखानको लागि निर्वाचन आयोगले रोकेको हो ? गुटबन्दी नगर्न संविधानले रोकेको हो ? राजनीतिको नाममा कुर्सीको खेल मात्रै प्रमाणित गर्न संविधानले बाध्य पारेको हो ?’
भुसालले वर्तमान संविधानलाई ‘बबुरो संविधान’ भन्दै आलोचना गर्दै भने, ‘राजनीतिको नालायकीपन संविधानमा फालियो । अहिले काम नगर्नुको सजिलो बहाना संविधान भएको छ ।’
उनले सुशासन, जबाफदेहिता र जनताको विश्वास जित्नका लागि राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए । भुसालको भनाइमा, मुलुकको परिवर्तन केवल कानुनी वा संरचनागत नभई राजनीतिक संस्कार र नेतृत्वको चरित्रमा परिवर्तन गरेर मात्र सम्भव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया