काठमाडौं । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आउन थालेपछि गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोट आफू तनावमा रहेको बताएका छन् ।
एलिना र विष्णुबिच ०८१ साल माघमा सम्बन्ध बिच्छेद भएको थियो । दुईबिच १० महिना मात्र सम्बन्ध टिकेको थियो ।
त्यसपछि कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेर अलग भएका एलिना र विष्णुको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।
जसकारण आफू गम्भीर मानसिक पीडामा रहेको भन्दै आफूले कानुनी उपचारमा जाने समेतका चेतावनी दिएका छन् ।
‘कठोर शब्द, धम्कीपूर्ण सन्देशहरु, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरुले गर्दा म गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको छु । सम्बन्धमा आएको पीडालाई आत्मसंयमका साथ सहेर बसेको छु । यस्ता संवेदनशील विषयहरुलाई सामाजिक सञ्जालमा बहस गर्नु न नैतिक रुपमा, न मानवीय रुपमा, न कानुनी रुपमा उचित ठहर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्मसम्मानको संरक्षणका लागि मेरो व्यक्तिगत मानहानी तथा व्यवसायीक नोक्सानीको क्षतिपुर्तिसहित मैले अष्ट्रेलियामा कानुनी कारबाही अघि बढाइसकेको छु ।’
एलिनाले भने सम्बन्ध विच्छेदपछि त्यसबारे टिप्पणी गर्ने गरेकी छन् । उनले आफूले सहनै नसक्ने भएपछि सम्बन्ध विच्छेदको गरेको बताउँदै आएकी छन् । जसकारण पनि सामाजिक सञ्जालमा विष्णुप्रति कटाक्ष हुने गरेको छ ।
अष्ट्रेलियामा बस्दै आएका विष्णुले भने दुवै जनाको सहमतिमा भएको सम्बन्ध विच्छेदलाई बिचमा ल्याउनु अदालतको अपमान भएको बताएका छन् । जसकारण आफू कुनै बेला माया गरेको मान्छेलाई केही नभनी बसेको बताएका छन् ।
‘हिजोको दिनमा माया गरेर, परिवारको उपस्थितिमा, आदरपूर्वक घर भित्र्याएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक रुपमा बोल्न उचित ठाँनिन् । दुवै पक्षको समझदारीमा सम्मानित अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान पनि ठहर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया