एक वर्षमा ८ लाख भन्दा बढीले लिए श्रम स्वीकृति

लोकपथ
126
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारको लागि ८ लाख ३९ हजार २६६ जना नेपाली श्रमिकले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।

विभागका अनुसार श्रम स्वीकृति प्राप्त गर्नेमा ७ लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन् ।

विगत वर्षको जस्तै यो वर्ष पनि युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया र बहराईन प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेका छन् ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगत पाँच वर्षको अवधिमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएको जानकारी दिए । उनका अनुसार हालसम्म १ हजार ६८७ वटा वैदेशिक रोजगार संस्थाले इजाजत पाएका छन् भने असार मसान्तसम्म २१२ संस्थाको नविकरण गरिएको छ ।

महानिर्देशक भट्टराईका अनुसार विभागले ‘वर्क परमिट अन दि सेम डे’ नीति पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। साथै, रित नपुगेका अनलाइन दरखास्तमा आवश्यक कागजात पेस गर्न तुरुन्तै सन्देश पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भट्टराईले वैदेशिक रोजगार क्षेत्रमा विचौलियामुक्त व्यवस्था र शून्य सहनशीलता नीतिलाई विभागले पूर्णरूपमा अंगीकार गरेको उल्लेख गरे ।

साथै, उनले वैदेशिक रोजगारसम्बन्धी कानुन संशोधन गरी प्रणालीलाई अझ सरल, सहज र समयसापेक्ष बनाउने तथा वैदेशिक रोजगारीमा लाग्ने समय र लागत घटाउने विभागको आगामी योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?