काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अहिलेसम्म ११ जनाको शव फेला परेको र २० जना नेपाली नागरिक अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आइतबार बोल्दै उनले दुई जनाको मात्रै सनाखत भएको बताए ।
गृहमन्त्रीका अनुसार बेपत्ता भएकामध्ये केही चीनको भूमिबाट बगेर नेपाल आएको हुनसक्ने आशंका गरिएको छ ।
चीन सरकारका अनुसार ११ जना चीनतर्फबाटै बेपत्ता भएका छन् । ‘११ जना चीनबाट मिसिङ भएको खबर आएको छ,‘मन्त्री लेखकले भने, ‘उहाँहरू पनि बगेर यता ल्याएको आशंका छ ।’
सरकारले खोज, उद्धार, राहत र पुनःनिर्माणलाई प्राथमिकता दिँदै सबै संयन्त्र तयारी अवस्थामा राखिएको मन्त्री लेखकले स्पष्ट पारे । ‘खोज, उद्धार, पुनःनिर्माणमा कुनै कमी नगरी काम गर्नेछौँ,‘ उनले भने, ‘पूर्व सूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ ।’
बेपत्ता भएको १० दिनसम्म शव नभेटिए मृतक सरह राहत दिने निर्णय सरकारले गरिसकेको पनि उनले बताए । ‘कहिले काहीँ खोज, उद्धार गर्दागर्दै पनि मानिस भेटिँदैन,‘उनले भने, ‘त्यसैले हामीले १० दिनसम्म खोज गर्ने र त्यसपछि मृतक सरह राहत दिने निर्णय गरेका छौँ ।’
पूर्व सूचना प्रणाली सुधारबारे बोल्दै मन्त्री लेखकले एसएमएस प्रणाली मात्रै पर्याप्त नभएको निष्कर्षमा सरकारले पुगेको बताए । अब विपद् पूर्व जानकारी दिन टेलिफोन सेवा प्रदायकहरुमार्फत एकै पटक घण्टी बजाएर जनतालाई सतर्क गराउने उपायबारे सरकारले विचार गरिरहेको जानकारी पनि उनले दिए ।
‘अब जोखिम उत्पन्न भइहाल्यो भने प्रतिकार्यको कुरा हो, ‘मन्त्री लेखकले भने, ‘पूर्व सूचना, उद्धार, राहत र पुनः निर्माण– सबै चरणमा हामी तयारी अवस्थामा छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया