काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले मनसुनका जोखिमहरु न्यूनिकरण र प्रतिकार्यका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
लेखकले भने, ‘अहिले मनसुनको समय छ र यस समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्छन् । त्यसैले पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने र विपद् आएपछि छिटो प्रतिकार्यका काम गर्न तयारी भइरहेछौं ।’ उनले गृह मन्त्रालयअन्तर्गत विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबै पक्षसँग समन्वय गरेर काम गरिरहेको उल्लेख गरे ।
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले, विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार, सामग्री भण्डारणसहित डोजर, स्काभेटर जस्ता हेभी इक्यूपमेन्ट तयारी अवस्थामा राखिएको पनि जानकारी दिइयो ।
गृहमन्त्री लेखकले ‘हामीसँग विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरिएको छ र गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो, ‘भनी सुरक्षा र तयारीमा कुनै कमीकमजोरी नराखिने प्रतिबद्धता व्यक्त गरे ।
यसरी सरकारले मनसुनका बेला सम्भावित विपद् जोखिमलाई न्यूनिकरण गर्दै समयमै प्रभावकारी प्रतिक्रिया गर्न तत्परता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया