मितेरी पुल बगाउँदा कैलाश तीर्थयात्री समस्यामा, वैकल्पिक नाका खुलाउन टानको आग्रह

लोकपथ
497
Shares

काठमाडौं । पर्वतीय पर्यटक व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री र पर्यटकहरु समस्या सामना गरिरहेको जनाएको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले गत मंगलबार बिहान लेहेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएको बताउँदै, यसका कारण रसुवागढी नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै कैलाश मानसरोवर यात्रामा जाने नेपाली र विदेशी तीर्थयात्री तथा पर्यटकहरूलाई प्रवेशमा समस्या भएको जानकारी दिए ।

टानले चीन सरकारसँग तत्काल कुटनीतिक पहल गरी तातोपानी, कोरोला, हिल्साल र हिल्सालजस्ता वैकल्पिक नाकाबाट कैलाश मानसरोवर जाने वातावरण मिलाउन आग्रह गरेको छ ।

संगठनका अध्यक्ष सागर पाण्डेले कैलाश यात्रा गर्ने सिजनको मुखमै तिब्बत प्रवेश गर्ने तीर्थयात्री र पर्यटकलाई सहज र छिटो भिसा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । साथै, उनले नेपालस्थित चिनियाँ राजदूतावाससँग भिसा प्रक्रियालाई छरितो र यात्रुमैत्री बनाउन कूटनीतिक पहल गर्न र काठमाडौंमा रोकिएका तीर्थयात्रीलाई चाँडो कैलाश यात्रा गर्न सक्ने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन् ।

टानले बाढीमा परी मृत्यु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै हराइरहेका व्यक्तिहरूको छिटो खोजी गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

नेपालमा कैलाश मानसरोवर यात्रा गर्ने हजारौं तीर्थयात्रीका लागि यो पुल मार्गको पुनःस्थापना र वैकल्पिक प्रवेशमार्गका विषयमा शीघ्र कदम चाल्न आवश्यक रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?