काठमाडौं । रुप्से होलिडेजले युवा क्रिकेटर सुशील रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
क्रिकेटर रावलले सामाजिक सञ्जालमार्फत् आफूलाई आर्थिक सहयोग चाहिएको भन्दै अपील गरेका थिए । उनले आफूलाई प्रमाणपत्र र सम्मान भन्दा आर्थिक रुपमा सहयोग भएमा आगामी दिनमा थप राम्रो गर्नसक्ने बताएका थिए ।
‘स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ । म सुशील रावल । मलेसियामा भएको Acc U-16 East zone cup उठाउन सफल खेलाडी । म आज घर फर्किँदै छु । दिउँसो २ बजे काठमाडौंदेखि धनगढीको टिकेट छ । बझाङबाट छनौट भएर खेले पनि दैनिकी बसाई कञ्चनपुरको शुक्लाफाँटा ५ गर्जमुनिमा छ । अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाणपत्र भन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ । २–३ महिना u-19 national team का लागि छनोट हुँदैछ । त्यसका लागि तालिम गर्न भारत जानुपर्ने भएको छ । करिब १ लाख खर्च लाग्दै छ । आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गरो छैन । त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाण पत्र भन्दा आर्थिक कुरालाई महत्त्व दिई दिनुहोला । सुरुवात भएको छ । सफल बनाउने पालो अब तपाईंकोहरुको । विशेष अनुरोध वा यसलाई जे भन्नुहुन्छ । साथ सहयोग र मायाका लागि धेरै धेरै धन्यवाद छ,’ उनले सामाजिक सञ्जालमार्फत् अपील गरेका थिए ।
क्रिकेटर रावलको उक्त अपील थाहा पाएपछि आफूले एक लाख आर्थिक सहयोग गर्न लागेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले लोकपथलाई जानकारी दिए ।
साथै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग छलफल गरेर एक लाख रुपैयाँ केही दिनमै हस्तान्तरण गर्ने समेत बताए ।
‘क्यानका अध्यक्षज्यूसँग तत्कालै छलफल गरेर उहाँलाई केही दिनमै एक लाख आर्थिक सहयोग गर्नेछु,’ उनले भने ।
रावलले हालै मात्र मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधी नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । आगामी २–३ महिनामा यू–१९ नेशनल टीमका लागि छनौट हुँदैछ । त्यसका लागि भारत जानुपर्ने भएको र आफूलाई आर्थिक सहयोग आवश्यक परेको रावलले भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया