काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर र विश्वासिलो कर नीतिको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले उपभोक्ता र व्यवसायीहरूबीच कर नीतिको विश्वसनीयताप्रति आशंका रहेको अनुभूति भए पनि सरकार कर नीतिमा स्थिरता र स्पष्टताको पक्षमा दृढ रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय उपभोक्ता र व्यवसायीहरूका बीचमा कर नीति अप एण्ड डाउन भइरहन्छ भन्ने आशंका देखिएको छ । तर अब यस्तो आशंका गर्न आवश्यक छैन । हामी स्थिर कर नीतिको पक्षमा छौँ ।’
उनले करको दायरा विस्तार गर्न आवश्यक रहेको बताउँदै कर दरमा सानो परिमार्जन आवश्यक भए पनि मूलतः स्थिरता कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट पारे । ‘हामी सापेक्षित स्थिरताको पक्षमा छौं,’उनले भने, ‘करको दरमा बेला–बेलामा परिमार्जन आवश्यक हुन्छ, तर त्यसले नीति अस्थिर हुन्छ भन्ने बुझ्नु हुँदैन ।’
कार्यक्रममा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट पनि यही स्थिरताको आधारमा प्रस्तुत गरिएको दाबी गरे ।
यस्तै, उनले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकार लचिलो नीति ल्याउन तयार रहेको पनि बताए । जलविद्युत उत्पादन प्रवर्द्धन गर्न विगतमा अनुकूल नीति ल्याइएको स्मरण गर्दै उनले आगामी दिनमा निजी क्षेत्रमैत्री वातावरण बनाइने प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया