एसीसी यू–१६ इस्ट जोन च्याम्पियन नेपाली टोलीलाई क्यानद्वारा पुरस्कृत गरिने

लोकपथ
413
Shares

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा अपराजित यात्रा गर्दै उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार दिने भएको छ ।

क्यानले प्रतियोगितामा सहभागी नेपाली खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो । संघका अनुसार टोलीको उत्कृष्ट प्रदर्शनको सम्मान तथा खेलाडीको हौसला अभिवृद्धिका लागि यो पुरस्कार प्रदान गरिनेछ।

गत साता मलेसियामा सम्पन्न प्रतियोगितामा नेपालले सबै खेलमा विजयी हुँदै फाइनलमा सिंगापुरलाई पराजित गरी उपाधि हात पारेको थियो ।

प्रतियोगितामा नेपालसहित भुटान, इन्डोनेशिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाईल्याण्ड र सिंगापुरका यू–१६ पुरुष राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो ।

नेपाली टोलीले समूह चरणमा सबै खेल जितेको थियो भने फाइनलमा समेत सशक्त प्रदर्शन गर्दै च्याम्पियन बनेको हो । क्यानले युवा खेलाडीहरूको सफलताको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?