रसुवा बाढी : ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको गृह मन्त्रालयको दाबी

लोकपथ
70
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार र राहत कार्यलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले रसुवामा हालैको बाढी प्रभावित क्षेत्रमा गरिएको उद्धार कार्यको विवरण प्रस्तुत गर्दै सरकार नागरिकसँगै रहेको आशा दिलाउन सफल भएको दाबी गरे ।

उनका अनुसार हालसम्म ३० जनाको हेलिकोप्टरमार्फत सफल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये चार जना भारतीय र एक जना नेपाली नागरिक नेपाल–चीन सीमा क्षेत्रबाट उद्धार गरिएको हो ।

त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनालाई स्थलगत उद्धार गरिएको छ। गृहमन्त्रीका अनुसार सो उद्धार कार्य सुरक्षाकर्मीहरूको संयुक्त टोलीले जोखिम मोलेर सम्पन्न गरेको हो ।

रसुवागढी जलविद्युत् आयोजनाको ड्याम साइडमा फसेका १ जना चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र २ जना महिला गरी १८ जनाको पनि स्थलगत उद्धार गरिएको जानकारी उनले दिए ।

“विपद्मा फसेका नागरिकहरूको उद्धार मात्रै होइन, उनीहरूलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार गर्न पनि सफल भएका छौँ,” गृहमन्त्री लेखकले भने ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ६८२ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएको पनि जानकारी गराए ।

सरकारले विपद् व्यवस्थापनमा चाँडो प्रतिक्रिया जनाएर नागरिकको सुरक्षामा गम्भीर जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?