रसुवा बाढीमा कम्तीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार, उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

लोकपथ
3.7k
Shares

काठमाडौं । चीनबाट एकाबिहानै आएको बाढीमा परेर रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ ।  बेपत्ता हुने प्रहरीमा असई लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा छन् । बेपत्ता हुने प्रहरीहरू इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका थिए ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार, एक जना प्रहरीले आफू नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् भने नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । अन्य बेपत्ताको खोजी कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । 

प्रहरीका अनुसार, सोमबार राति आएको बाढीले रसुवागढी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडीसमेत बगेको छ । 

आज बिहान ३ बजे चीनको एरियामा परेको अविरल वर्षाको कारण रसुवागढीमा भारी मात्रामा बाढी आएको थियो ।

बिहान ४ बजे नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई पुल पूर्ण रूपमा क्षति र सवारी साधनमा आवतजावत बन्द भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

त्यस्तै साढे ४ बजे रसुवा गोसाईंकुण्ड–२ स्थित इभी चार्जिङ स्टेसनमा क्षति भएको र ७/८ वटा इभी गाडीहरू बगाएको प्रहरीले जनाएको छ । साथै भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । यस्तै, ३/४ वटा मालवाहक कन्टेनर डिब्बा बगाएको बताइएको छ । 

यस्तै बिहान ५ः५५ बजे रसुवाको गोसाईंकुण्ड गापा–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी– रसुवागढी सडक खण्डमा भोटेकोसी नदीमा आएको बाढीले सडक पूर्णरुपमा कटान गरेको छ । साथै पहिरो झरी सडक अवरुद्ध भएको छ । 

भोटेकोसी नदीमा पानीको बहाव बढ्दै गइरहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूलाई सचेत गराइएको प्रशासनले जनाएको छ । 

अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो संख्यामा परिचालन गरिएको छ । बीओपी टिमुरे रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमान्डमा २० जनाको टोली खटिएको छ । 

यस्तै बिहान ५ बजे नै नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा २१ जना पठाइएको छ । सो टोलीमा विपद् व्यवस्थापन तालिम प्राप्त सात जनासमेत छन् । 

सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, उद्धार सामाग्रीहरूसहित खटिएको सो टोली स्याफ्रुबेशीदेखि अगाडि सडक चर्केकाले जान नसक्ने अवस्थामा रहेकाले पैदल हिँडेर त्यसतर्फ गइरहेका छन् । 

यस्तै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक. कृष्णबहादुर धितालको कमान्डमा २० जनाको प्रहरी टोली, इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङको कमान्डमा २ जना, प्रहरी चौकी रसुवागढीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन महन्त गिरीको कमान्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्रहरी चौकी हाकु रसुवाबाट ७ जना, अस्थायी प्रहरी पोस्ट मैलुङ रसुवाबाट ९ जना, प्रहरी चौकी बेत्रावतीबाट १० जनाको प्रहरी टोली गरी गरी ९४ जनाको टोली उद्धारका लागि खटिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?