एसीसी यू–१६ इस्ट जोन कप : नेपाललाई उपाधि जित्न ११४ रनको सामान्य लक्ष्य

लोकपथ
1.1k
Shares

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले उपाधि जित्न सिंगापुरविरुद्ध ११४ रनको सामान्य लक्ष्य पाएको छ ।

सिंगापुरले टस जितेर ब्याटिङ रोजे पनि ४०.५ ओभरमा ११३ रनमै अलआउट भयो । यसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रनको योगदान दिए ।

नेपालका लागि अभय यादवले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै, सुशिल बहादुर रावलले पनि ३ विकेट लिँदै टिमको जितमा बलियो आधार तयार गरे । शुभम खनालले २ विकेट तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनल पुगेको हो । समूह चरणमा पनि नेपालले सिंगापुरलाई पराजित गरेको थियो । त्यही हारपछि सिंगापुरले बाँकी सबै खेल जित्दै फाइनलको यात्रा तय गरेको हो ।

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने सिंगापुरले हङकङलाई हराएर उपाधि भिडन्त पक्का गरेको थियो ।

आजै मलेसिया र हङकङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको साविक विजेता नेपालले यो पटक पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । अब नेपालले ११४ रनको लक्ष्य पूरा गर्न सके उपाधि दोहोर्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?