काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुलको काम सम्पन्न भएको छ ।
पुलमा कालोपत्रे समेत गरिसकिएको र बिहीबार बिहान ११ बजेदेखि सो पुलबाट यातायात सञ्चालन गरिने नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
करिब पाँच दशक पुरानो फलामे पुल गत पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । यद्यपि खोलामा पानीको बहाव बढेपछि डाइभर्सन पटक पटक बगाउने समस्या आइरहँदा राजमार्ग नै अवरुद्ध हुने अवस्था सिर्जना हुँदै आएको थियो। यसले गर्दा घण्टौँ लामो जाम र यात्रुहरूलाई ठुलो सास्ती खेप्नुपरेको थियो ।
नयाँ पुल २४५ मिटर लम्बाइ र ७.५ मिटर चौडाइको छ भने पुलको देब्रे भागमा पैदल यात्रुका लागि फुटपाथको समेत व्यवस्था गरिएको छ ।
सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार अब नयाँ पुल सञ्चालनमा आएपछि यात्रुहरूको यात्रा सहज र सुरक्षित बन्नेछ ।
उक्त क्षेत्रमा विशेष गरी दाइउन्नेसम्म सडक विस्तारको कामसँगै बर्खामा यातायात सुचारु राख्न थप प्रयास भइरहेको आयोजनाले जनाएको छ ।
यस पुलको सञ्चालनले बुटवल–नारायणगढ सडक खण्डमा वर्षौँदेखि देखिँदै आएको आवागमनको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया