हेलो सरकार र सशस्त्र मुख्यालयमा उजुरी परेका गणपतिलाई कारबाही गर्न बाहिनीपति कुँवरको आनाकानी

आईजी र एआईजीहरुलाई नै गुमराहमा राखियो

लोकपथ
7.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको २९ नम्बर गण दाङका गणपति (एसपी) मनोज धिताललाई कारबाही गर्न नम्बर ५ बाहिनीका बाहिनीपति डीआईजी दीपेन्द्र कुँवरले आनाकानी गरेको पाइएको छ । 

गणपति धितालको अवैध धन्दा र बदमासीलाई लिएर गत जेठ ३ गते हेल्लो सरकार र जेठ ५ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उजुरी परेको थियो । प्रधान कार्यालयले उजुरीका सम्बन्धमा छानबिन गर्न नम्बर ५ बाहिनी कार्यालयलाई भनेको थियो । तर बाहिनीपति कुँवरले छानबिन गरेजस्तो गरेर गणपति धिताललाई चोख्याउने काम गरेको आरोप लागेको छ । 

स्रोतका अनुसार, बाहिनीपति कुँवरले गणपति धिताललाई जोगाउन सशस्त्र प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकहरुलाई पनि गुमराहमा राखिरहेका छन् । उनले आफूले गरेको छानबिनमा धितालले कुनै गल्ती नगरेको पाइएको भनेर सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त  महानिरीक्षकहरूलाई ब्रिफिङ गरेका छन् । 

सशस्त्र प्रहरी मुख्यालयले पछिल्ला दिनमा सबै स्थायी युनिट कमान्डरको ४/४ महिनामा कमान्ड पुनरावलोकन गर्ने र कमजोर तथा गल्ती देखिए कमान्ड हेरफेर, कमान्ड फिर्ता तथा कारबाही गर्नेसम्मको नीति अंगिकार गरेको छ । एसपी धितालले २९ नम्बर गणको कमान्ड गरेको साढे चार महिना भइसकेको छ । तर उनको कमान्ड कमजोर मात्र नभई बदमासीपूर्ण काम गरिरहँदा पनि उनीमाथि कुनै कारबाही भएको छैन ।

गणपति धितालले गणको नेतृत्व लिएपछि दाङको कोइलाबास नाकाबाट व्यापक मात्रामा गोरुको तस्करी बढेको छ । भारतबाट नेपाल तस्करी गर्ने नाका नै त्यही भएको छ । त्यहाँबाट छिराइएका गोरु झापा पुर्‍याएर बंगलादेश तस्करी गरिन्छ । यस बाहेक उनले मातहत कार्यालयबाट पैसा असुल्न छोडेका छैनन् ।

लोकपथ डटकमले सशस्त्र प्रहरी बलको २९ नं. ज्वालामाई गण दाङका गणपति एसपी धितालका बारेमा यसअघि पनि पटक पटक समाचार प्रकाशित गरिसकेको छ । उनले ट्याक्टर व्यवसायी र मातहत कार्यालयबाट पैसा उठाएको कुरा लोकपथ डटकमले सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि उनले आफूलाई सुधार्नुको साटो आफू मातहतका कमान्डरमाथि केरकार सुरु गरे । 

समाचार प्रकाशन भएपछि उनले कसले समाचार दियो भन्दै मातहतका कमान्डरमाथि केरकार सुरु गरेका थिए ।  ‘यति कुरा पनि गोप्य राख्न नसक्ने’ भन्दै थर्काएको एक कमान्डरले लोकपथलाई बताए । 

ती कमान्डरका अनुसार, समाचार प्रकाशित भएपछि उनले सञ्चार मार्फत सबै कमान्डरलाई फोन गर्न आदेश दिएका थिए । 

मासिक रूपमा पैसा उठाउने अनि फेरि त्यो कुरा बाहिरियो भन्दै रिसाउने के तरिका हो भन्दै एक कमान्डरले प्रश्न गरे । 

उनले आफू कार्यालय प्रमुख रहेको गणबाट पनि रासनबाट मोटो रकम उठाउँदै आएका छन् । मासिक २ लाख रुपैयाँसम्म रासनबाट बचत गरेर उनलाई बुझाउनु पर्ने स्रोतको दाबी छ । अहिले गणमा ४५ प्रतिशतसम्म बिदा आउटमा हुने गरेको बताइन्छ । ‘पैसा भनेपछि मरिहत्ते गर्ने बानी रहेछ एसपी साबको,’ गणका एक कर्मचारी चिन्तित हुँदै भने । 

लोकपथ डटकमले त्यसअघि पनि ‘सशस्त्रका एसपी धितालको गैरकानुनी धन्दाले सीमा नाघ्यो, व्यवसायी नै उत्रन थाले प्रतिकारमा’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

समाचारमा लेखिएको थियो, ‘सशस्त्र प्रहरी बल दाङका गणपति एसपी मनोज धितालको गैरकानुनी धन्दाले सीमा नाघेको छ । एसपी धितालले आफू मातहतको गुल्म र बेसका कमान्डरलाई ‘जसरी पनि मासिक रूपमा पैसा बुझाउनु’ भन्ने आदेश दिएकाले गुल्मका डीएसपी र बेसका नायव निरीक्षक (सई) हरू पनि गैरकानुनी धन्दामा लाग्न बाध्य भएका छन् । 

केही दिनअघि तुलसीपुर गुल्मका डीएसपी नरेश खड्काले त्यहाँका गिटी र बालुवा व्यवसायी र ट्याक्टर व्यवसायीलाई धम्क्याएका थिए । उनले व्यवसायीलाई धम्क्याउँदै महिनावारी बुझाउन निर्देशन दिएका थिए । एसपी धिताललाई जसरी पनि मासिकरुपमा रकम बुझाउनु परेपछि डीएसपी खड्काले गिटी र बालुवा व्यवसायीलाई धम्क्याएको बताइएको छ । उनले धम्क्याएपछि ती व्यवसायीले प्रतिकार गर्दा ठूलै लफडासमेत भएको थियो । 

एसपी धिताललाई तुलसीपुर र घोराहीमा रहेको कारागार सुरक्षा बेस, कोइलाबासमा कार्यरत डीएसपीले पनि मासिक रूपमा रकम बुझाउनुपर्ने हुन्छ । उनीहरूबाट मासिक २५/२५ हजार रुपैयाँका दरले बुझाउनु पर्ने स्रोतको दाबी छ । त्यति मात्र होइन दाङको सीमा नाकामा रहेका कोइलाबास, सुनपत्थरी, भैसाही, खांग्रालगायतका सबै बीओपी बाट समेत एसपी धितालले असुल्दै आएका छन् । ‘मासिक नबुझाए छड्के निरीक्षण भन्दै दुःख दिन्छन्, त्यसैले नबुझाए सुखै छैन,’ एक जना बीओपीपतिले गुनासो गरे । 

एसपीलाई रकम बुझाउनकै लागि सीमामा रहेका युनिटमा ६० प्रतिशतसम्म बिदा आउटमा छोड्ने गरिएको बताइन्छ । दाङका प्रायः सबै बीओपीमा सईले कमान्ड गर्छन् । गणपतिलाई मासिकरुपमा रकम बुझाउनु पर्ने भएपछि तनावको जिन्दगी जिउनु परेको ती सईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?