काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अनियमित वर्षा र बाढीपहिरोका कारण धानखेती जोखिममा रहेको बताएका छन् ।
धान दिवसका अवसरमा नेपाल किसान महासंघको आयोजनामा नुवाकोटमा आयोजित धान रोपाईँ कार्यक्रममा सहभागि हुँदै पूर्वमन्त्री समेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।
नेपाल किसान महासंघ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–६ थानसिंह फाँटमा बृहत रोपाईँको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागि हुँदै नेता केसीले असार महिना नेपालको कृषिको मुटु रहेको बताउँदै महासंघले गरेको कार्यक्रमले किसानहरुका लागि थप उर्जा भर्ने काम गरेको बताए ।
‘राष्ट्रिय धान दिवसको सन्देश यो वर्षको नारा “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” ले दिगो खेतीमा जोड दिन्छ । जलवायु परिवर्तनका कारण अनियमित वर्षा र बाढीले धान खेती जोखिममा छ । जैविक मल, पानी व्यवस्थापन, र नयाँ प्रविधिले उत्पादन बढाउन सकिन्छ। नुवाकोटको कार्यक्रमले यस्ता पहललाई प्रोत्साहन गरेको छ,’ नेता केसीले भने ।
सांस्कृतिक र आर्थिक महत्त्व असार केवल खेतीको समय होइन, यो संस्कृति र एकताको प्रतीक हो । हिलोमा रमाउँदै, गीत गाउँदै धान रोप्ने परम्पराले नेपाली पहिचान झल्काउने उनले बताए ।
त्यस्तै असारमा किसानहरुले देखाएको उत्साहलाई सरकारले बुझ्नुपर्नेमा जोड दिए । साथै सिँचाइ, सहुलियतपूर्ण ऋण र बजार पहुँचले नै धान खेतीमा क्रान्ति ल्याउन सक्ने बताए ।
‘असारको यो उत्साहमा किसानको सम्मान र समस्यालाई सम्बोधन गर्नुपर्छ । सिँचाइ, सहुलियत ऋण र बजार पहुँचले धान खेतीमा क्रान्ति ल्याउन सक्छ । यस्ता कार्यक्रमले किसानलाई हौसला दिन्छ र दिगो कृषिको बाटो खोल्छ,’ उनले भने ।
साथै धान दिवसमा मात्र नभएर अन्य समयमा समेत किसानहरुको कदर राज्यले गर्नुपर्ने नेता केसीको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया