काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालविरुद्ध मुद्दा दायर भएको र विशेष अदालतबाट धरौटीमा छाड्न आदेश आएको छ । तर केही नेताहरुले अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएको अर्ली महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले काँधमा सिनो बोकेर हिँड्न नसकिने भन्दै अर्ली महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने भन्दै कटाक्ष गरेकी थिइन् ।
एक सार्वजनिक कार्यक्रममा उनले भनेकी थिइन्, ‘अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?’ अब के गर्ने भने पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? आइदर अर्ली महाधिवेशन गरौं अर मनोनीत गरेर पुनर्गठन गरेर अध्यक्ष बनाऔं ।’
भ्रष्टाचार मुद्दामा अध्यक्षमाथि नै संवैधानिक र कानुनी बाधा आएको भन्दै सुधारिएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरु कयौं पार्टीका सदस्यमाथि पनि समस्या आकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन रु गरौं न त अर्ली महाधिवेशन गरौं । हलबाट नेतृत्व छानौं ।’
झाँक्रीको उक्त अभिव्यक्तिपछि एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति नै जारी गरेर अध्यक्षकाविरुद्ध सार्वजनिक रुपमा नबोल्न, नलेख्न समेत निर्देशन दिएका छन् ।
‘यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ । तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि सार्वजनिक रुपमा नबोल्न, नलेख्न पार्टी केन्द्रीय कार्यालय सबै कारमरेडहरुको ध्यानाकर्षण गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरु छन् भन्ने कुरामा हेक्का राख्न र कुनै पनि बहानामा सार्वजनिक वादप्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया