काठमाडौं । निर्माण सामग्री सस्तो भएको छ । उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घटाइएको छ भने डन्डीको भाउ प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार पछिल्लो समय सिमेन्ट र डन्डीको माग घट्नुका साथै लोडसेडिङको समस्या पनि कम भएकाले उत्पादन लागत घटेको र त्यसकै आधारमा उद्योगीले मूल्य घटाएका हुन् ।
‘अहिले उद्योगमा लोडसेडिङ घटेका कारण उत्पादन लागत घटेको छ, त्यसैले सिमेन्ट र डन्डीको भाउ घटाइएको हो,’ उनले बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार हाल ओपीसी सिमेन्टको मूल्य ६ सयदेखि ७ सय रुपैयाँसम्म रहेको छ भने डन्डीको भाउ पनि प्रतिकिलो ८२ देखि ८५ रुपैयाँको हाराहारीमा झरेको छ ।
‘डन्डीको भाउ पहिले ९६ रुपैयाँ प्रतिकिलो थियो, अहिले घटेर ८२–८५ रुपैयाँसम्म आएको छ,’ अध्यक्ष सिंहले बताए ।
यसअघि उद्योगीहरूले उत्पादन लागत बढेको भन्दै ओपीसी सिमेन्टको मूल्य ६७५ देखि ८ सय रुपैयाँसम्म र पीपीसी सिमेन्टको मूल्य ५५० देखि ६७५ रुपैयाँसम्म पुर्याएका थिए । तर बर्खायाममा निर्माण गतिविधि घट्ने भएकाले मागमा कमी आउने र त्यसले मूल्य घटाउने गरेको व्यवसायीहरूको भनाइ छ ।
बर्खा सकिएसँगै निर्माण कार्य तीव्र हुने हुँदा मूल्य फेरि बढ्ने सम्भावना रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया