हिलोमा नपसेसम्म समुन्नति सम्भव छैन : मन्त्री अधिकारी

लोकपथ
217
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने स्पष्ट पारेका छन् ।

असार १५ गतेको अवसरमा ललितपुरमा आयोजित २२औँ राष्ट्रिय धान दिवसको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पछिल्लो समय हिलोमा टेक्न हिच्किचाउने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरे ।

‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौं । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने सोच बन्दै गएको छ,’उनले भने, ‘तर जबसम्म हामी हिलोमा पस्दैनौँ, तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’

उनले नेपाली धान, विशेषगरी चैते धानको स्वाद अन्यत्र नपाइने भन्दै स्थानीय उत्पादनप्रति गर्व गर्नुपर्ने बताए । ‘राम्रो नहोला, मिठो नहोला, गिलो होला, तर चैते धानजस्तो स्वादिलो खाना अरु कहीं पाइन्न,’उनले भने ।

मन्त्री अधिकारीले आत्मनिर्भरता हासिल गर्न अनुसन्धान र परिष्कृत प्रविधिको प्रयोग गर्दै धान उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

धानमा आत्मनिर्भर बन्न राज्यको दायित्व महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मलको समयमै आपूर्ति, पर्याप्तता र व्यवस्थापन सरकारको प्राथमिकता भएको बताए ।

‘असार-साउनमा मलको अभाव हुन्छ कि भन्ने चिन्ता छ,’उनले भने, ‘तर सरकार मल व्यवस्थापन गर्न सक्षम छ । आगामी दिनमा सहज रूपमा मल उपलब्ध हुनेछ ।’

किसानको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले आगामी दुई वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको जानकारी दिए । यसै अवसरमा मुलुकभर राष्ट्रिय धान दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?