काठमाडौं । आइतबार (आज) संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो ।
प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।
आजका लागि निर्धारित कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नुहुनेछ । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।
सरकारले पहिलोपटक निजामती विधेयक पारित गर्न लागेको विषयलाई चासोका साथ हेरिएको छ । समितिबाट पास भएर आएको निजामती विधेयकमा कुलिङ पिरियडको विषयलाई लिएर सरकारमाथि दबाब सिर्जना भएको छ । उच्च पदस्थ कर्मचारीहरुले कुलिङ पिरियड राखिएमा सामूहिक राजीनामासम्मको धम्की दिएका थिए । जसकारण समितिबाट समेत पारित भएर आइसकेको विधेयक यसअघि प्रतिनिधि सभामा पेस गर्न समेत कठिनाइ परेको थियो ।
यस्तै, आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये १४ वटा मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया