२० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सुरु गर्ने सरकारको घोषणा

जलवायु परिवर्तनको सामना र वातावरणीय पुनःस्थापनाका लागि सरकारको दीर्घकालीन योजना

लोकपथ
259
Shares

काठमाडौं । जलवायु परिवर्तनविरुद्धको लडाइँलाई थप गति दिँदै नेपाल सरकारले ‘सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सन् २०२५ देखि २०४५ सम्म प्रत्येक वर्ष असार १४ देखि साउन १५ सम्म देशभर वृक्षारोपण गरिने जानकारी दिएको हो।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अभियान सन् २०४५ सम्म नेपाललाई कार्बन उत्सर्जन शून्य बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप सुरु गर्न लागिएको स्पष्ट पारे। उनका अनुसार अभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवाको रोपाइँ गरिनेछ।

अभियानमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै सामुदायिक वन महासंघ, साझेदारी र निजी वन, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सक्रिय सहभागिता रहने जनाइएको छ।

‘सगरमाथा वृक्षारोपण महाअभियान’को मुख्य उद्देश्यहरूमा कार्बन उत्सर्जन घटाउने, जलवायु परिवर्तनमा अनुकूलता ल्याउने, हिमालय क्षेत्र र जलाधारको संरक्षण गर्ने, जैविक विविधता प्रवद्र्धन गर्ने तथा वातावरणीय पुनःस्थापनामा योगदान पुर्‍याउने रहेको मन्त्रालयले जनाएको छ।

यो महाअभियान नेपाल सरकारको वातावरणीय दीर्घदृष्टिकोण झल्काउने ऐतिहासिक प्रयासको रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?