टिकटकर रमा बस्नेतलाई रिहा गर्न आदेश, कति तोकियो धरौटी ?

लोकपथ
1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि टिकटकमार्फत टिप्पणी गरेकी रमा बस्नेत ३० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐन अन्तर्गत अभियोग लगाएर दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी बस्नेतलाई प्रहरीले गत असार १ गते पक्राउ गरेको थियो। उनलाई गृह मन्त्रालयको पत्रको आधारमा अनुसन्धान गरी मुद्दा अगाडि बढाइएको हो।

सरकारी वकिल कार्यालयद्वारा अदालतमा दायर अभियोग पत्रमा बस्नेतले टिकटक भिडियोमार्फत प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि घृणा र द्वेष फैलाउने खालको टिप्पणी गरेको आरोप लगाइएको छ।

चारित्रिक हत्या भएको दाबी गर्दै सरकारी वकिलले १ लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको मागदाबी सहित मुद्दा दायर गरेको थियो।

यस प्रकरणले अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी बहसलाई पुनः चर्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?