शंकर पोखरेलले औँल्याए एमालेमाथि आक्रमण गर्ने ‘चार शक्ति’

लोकपथ
6.2k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो दललाई मुख्य ४ वटा शक्तिले हमला गरिरहेको टिप्पणी गरेका छन् ।

एमाले कमजोर हुँदा सबैको स्वार्थ पूरा हुने भन्दै विभिन्न चार शक्ति लागिपरेको आरोप लगाएका हुन् ।

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादी, माओवादी, समाजवादी र बाह्य शक्तिले साइबर आक्रमण गरिरहेको बताए ।

उनले बैठकलाई सम्बोधन गर्दै भनेका छन्, ‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइवर हमला गरिरहेका छन् ।

उनीहरू सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् । राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति । एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामी माथि खनिएका हुन् ।’

कांग्रेससँग एमालेले सहकार्य गरेपछि आफूहरुको बार्गेनिङ पावर घटेको भन्दै उनले कम्युनिष्ट नाम गरेका पार्टीहरु समेत एमालेविरुद्ध लागिरहेको आरोप लगाए । साथै उनले पार्टीमाथि अन्यको आक्रमण बढ्दा आत्तिने नभइ प्रतिकारमा उत्रिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।

‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिष्टधारीहरु साइबर हमला गर्न आएका छन्’ महासचिव पोखरेलले भने, ‘तिनीहरू विदेशीका भरिया हुन् । कांग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन् । यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ ।’

महासचिव पोखरेलले जेठ १५ गते एमालेले प्रतिकार गरेकै कारण राजावादी शक्तिहरुको आन्दोलन कमजोर बनेको दाबी समेत गरे । त्यसपछि राजावादीहरु एमालेप्रति थप खनिएको बताउँदै त्यसबाट आफूहरु बिचलित हुन नहुने समेत उनको तर्क छ ।

‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालीन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन् । राजावादीको गालीबाट हामी विचलित हुनुहुँदैन । उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौँ ।’

त्यस्तै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको उनको आरोप छ ।

अहिले ती शक्तिहरुमाथि प्रतिकार नगरे भोली अन्य राजनीतिक नेतृत्वमाथि समेत निशाना बनाइने भन्दै माथि उल्लेख गरिएका ४ वटा शक्तिले सामाजिक सञ्जालमा भनाइ राख्दा एमालेप्रति आक्रमण गर्ने गरिएको बताए ।

‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ । आजै यो कुरालाई निस्तेज नगरे भोली अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?