एमालेको निष्कर्ष : ‘सरकारको एक वर्षे कार्यकाल सफल र उपलब्धिमूलक’

लोकपथ
791
Shares

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ ।

बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै सरकारका नीतिगत निर्णय र तिनको कार्यान्वयन सन्तोषजनक रहेको पार्टीको मूल्याङ्कन रहेको जानकारी दिए ।

ज्ञवालीका अनुसार सरकारको कामकारबाहीप्रति जनअपेक्षाअनुसार प्रगति भएको, सत्तारुढ दल कांग्रेस–एमालेबीचको सम्बन्ध थप मजबुत बनेको, र दलीय एवं नीतिगत निर्णयमा स्पष्टता तथा स्थायित्व देखिएको छ ।

‘पार्टीले सरकारको एक वर्ष सफल भएको ठहर गरेको छ,’ उनले भने, ‘दुई दलबीचको सहकार्य नीतिगत स्तरमा पनि मजबुत बनेको छ । अर्थतन्त्रमा विस्तारै सुधार देखिएको छ, अघिल्लो सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्दै जाँदा मुलुकका जटिलताहरु समाधान गर्न सकिएको छ ।’

उनले सडकमा देखिएको विरोध र असन्तुष्टि क्रमशः घट्दै जानु सरकारको कामप्रतिको जनसमर्थनको संकेत भएको उल्लेख गरे ।

तर पार्टीले सुशासन, सेवा प्रवाह र नागरिकका दैनिक सरोकारमा अझ प्रभावकारी पहल आवश्यक रहेको पनि निष्कर्ष निकालेको छ । ‘सुशासन र सेवा प्रवाह अझ सुदृढ गर्नुपर्ने आवश्यकताबारे पनि छलफल भएको छ,’ ज्ञवालीले स्पष्ट पारे ।

एमाले सचिवालयको यो निष्कर्षले सत्तारुढ गठबन्धनको भविष्य र सरकारको आगामी रणनीतिमा थप मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?